अन्य

विवेकशील साझा पार्टी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा, घोषणापत्रमा के छ ?

Spread the love

काठमाडौं, कात्तिक २४ । ‘अबको आशा, विवेकशील साझा’को मूलनारा अघि सार्दै विवेकशील साझा पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

शुक्रबार राजधानीमा सार्वजनिक गरिएको घोषणापत्रमा बेलायती शैलीको संसदीय प्रणालीले देशमा अस्थिरता र अप्राकृतिक सत्तासमीकरणजस्ता विकृति बढाएको भन्दै प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको शासकीय प्रणाली हुनुपर्ने उल्लेख छ ।

राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय एकता, सार्वभौमसत्ता र भौगोलिक अखन्डतामा सम्झौता हुन नसक्ने भन्दै सो पार्टीले सबै नेपालीको आत्मसम्मान र सहअस्तित्वलाई सुनिश्चित गर्ने नीति अवलम्बन गर्ने पनि बताएको छ ।

विदेशमा बस्ने नेपालीहरुको मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने भन्दै विवेकशील साझा पार्टीले धर्मनिरपेक्षताको विषयलाई आवश्यक परे जनमतसंग्रहमा लैजानुपर्ने उल्लेख गरेको छ ।

‘समृद्धि हाम्रै पालामा’ भन्ने आर्थिक नारा बनाएको सो पार्टीले मुलुकमा भ्रष्टचार अन्त्य गर्ने विषयलाई निकै महत्व दिएको छ ।

देशमा चलिरहेको लुटतन्त्रको भन्डारफोर गर्ने, समाजलाई उत्पादनशील बनाउने र देशको गुमेको स्वाभिमान पुनःस्थापित गर्ने विषयलाई पनि एजेन्डा बनाइएको छ ।

शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायातजस्ता आधारभूत सेवाका क्षेत्रमा राज्यको प्रमुख उत्तरदायित्व हुनुपर्ने मान्यता राख्दै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवालाई सुनिश्चित गर्ने दाबी पनि सो पार्टीले गरेको छ ।

नेपालमा सदियौंदेखि चलिआएका धार्मिक, साँस्कृतिक परम्परा र रितिरिवाजको जगेर्ना गर्ने, काठमाडौंलाई साँस्कृतिक सहरकोरुपमा विकसित गर्ने भन्दै सो पार्टीले सनातनदेखि मान्दै आएका धर्म वा आस्था परिवर्तन गराउने अभियानलाई कानुनीरुपमै बन्देज लगाउने प्रतिबद्धता पनि जनाएको छ ।

वि.सं. २०७२ सालको विनाशकारी भूकम्पबाट निजी सम्पत्ति क्षति भएका नागरिकहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्ने आश्वासनदेखि व्यवस्थित बस्ती विकास, द्रुत र भरपर्दो यातायात सेवा, पर्यटन, कृषि र खेल क्षेत्रको विकासमा पनि सो पार्टीले जोड दिएको छ ।

घोषणापत्र सार्वजनिक गर्दै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेपालको बेथिति र बेचैनको अवस्था अन्त्य गर्न आफूहरु राजनीतिमा आएको बताए ।

देश बनाउनका लागि इमान र देश निर्माणको नीति चाहिने भन्दै त्यो इमान र ऊर्जा विवेकशील साझा पार्टीसँग रहेको दाबी पनि पत्रकार सम्मेलनमा गरिएको थियो ।

Related Articles

Check Also
Close
Back to top button