समाचार

विकास र समृद्धिका लागि सरकार सही दिशामा अघि बढिरहेको प्रधानमन्त्री ओलीको दाबी

Spread the love

काठमाडौँ, जेष्ठ १४
प्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालको सयदिने कामको समीक्षा गर्दै विकास र समृद्धिका लागि सरकार सही दिशामा अघि बढिरहेको दाबी गरेका छन् । प्रधानमन्त्रीले सोमबार जारी गरेको भिडियो सन्देशमा मुलुककै स्रोतसाधन, छिमेकी मुलुक, अन्य मित्रराष्ट्रहरूसँग विकासका लागि सहकार्य गर्ने उल्लेख छ ।
‘मेरो सरकार लोकप्रियताका लागि काम गर्दैन, बरु काम गरेर लोकप्रिय हुन्छ,’ ओलीले भनेका छन्, ‘बितेका सय दिनको अवधिले स्पष्ट सकारात्मक लक्षण देखाइसकेको छ। नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाइछाड्छौँ।’ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका थिए। लगत्तै उनले भारत भ्रमण गरे भने यहीबीच भारतीय समकक्षी नरेन्द्र मोदीले पनि नेपाल भ्रमण गरे। ओलीले आफ्नो सय दिनको उपलब्धिमा भारतसँगको सम्बन्ध सुधार र भएका सम्झौतालाई महत्त्व दिएका छन्। उनले अब भारतसँगको सम्बन्ध सुधार भएको बताए।
‘बल्ल हामी छिमेकीजस्ता भएका छौँ , ’ ओलीले भिडियोमा भनेका छन् , ‘सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो अठोट छ।’ अरुण तेस्रोको शिलान्यास, विराटनगरमा रहेको भारतीय राजदूतावासको अस्थायी क्याम्प बन्दलगायत प्रसंग ओलीले उल्लेख गरेका छन्।। त्यस्तै, यातायात क्षेत्रको सिन्डिकेट अन्त्य, सुन तस्करका नाइकेहरू पक्राउ र ठूला आयोजना जिम्मा लिएर काम नगर्नेमाथि कारबाही सुरु गर्नुलाई प्रधानमन्त्रीले सयदिने उपलब्धिका रूपमा व्याख्या गरेका छन्।।
भिडियोमा उनले रेल र पानीजहाजलाई राष्ट्रिय सपना पनि भनेका छन्। उनले मितव्ययिताका लागि सरकारी खर्च कटौती गर्ने निर्देशिका जारी गरिएको पनि बताएका छन्। भ्रष्टाचारप्रति आफ्नो कडा रबैया हुने उनले दोर्होयाएका छन्।। मुलुक अविकसित रहेकाले धेरै मिहिनेत नेपालीले नै गर्नुपर्ने उनको भनाइ छ। त्यसैले काम गर्ने दिन बढाउन सरकारी बिदा कटौती गरिएको तर्क उनले गरेका छन्। पाँच वर्षभित्र प्रतिव्यक्ति आय दोब्बर बनाइछाड्ने उनले दोर्होयाएका छन्।। एक सय दिनमा संघीयता कार्यान्वयन, कर्मचारी व्यवस्थापनलगायत काम भएको प्रधानमन्त्री ओलीले भिडियो सन्देशमा उल्लेख गरेका छन्। ।

Related Articles

Check Also
Close
Back to top button