अन्य

काठमाडौंमा खुल्यो ‘विमान संग्रहालय’ (भिडियोसहित)

Spread the love

मीरा बस्नेत/सहदीप केसी (इमेज): काठमाडौं, कात्तिक १८ । काठमाडौंमा विमानकाबारेमा अध्ययन गर्न चाहनेहरुका लागि म्यूजियम बनेको छ ।

तीन वर्षअघि धनगढीमा नेपालकै पहिलो एभिएसन म्यूजियम स्थापना गरेका अन्तर्राष्ट्रिय एटीआर विमानका वरिष्ठ प्रशिक्षक एवं विमान चालन क्याप्टेन बेद उप्रेतीले काठमाडौको सिनामंगलमा एभिएसन म्यूजियम बनाएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरण र बेद उप्रेती ट्रष्टको सहकार्यमा करिब ७ करोड रुपैयाँको लगानीमा संग्रहालय निर्माण गरिएको हो ।

२०७१ साल फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणकाक्रममा दुर्घटनामा परेको टर्किस एअरलाइन्सको एअरबस विमान किनेर त्यसैमा संग्रहालय बनाइएको हो ।

विश्वमा चर्चित १० ओटा एभियसन म्यूजियम भएपनि ७७ मिटर लामो, एअरबस ३३० भित्रको मिनि प्लेन म्यूजियम विश्वकै पहिलो भएको दाबी पनि गरिएको छ ।

संग्रहालयमा जहाजका स्वरुप, तस्वीर, नक्सा, उपकरण र चालकदलले प्रयोग गर्ने पोसाक राखिएको छ ।

यहाँ पुग्ने दर्शकले पाइलटले ककपिटमा बसेर कसरी जहाज उडाउँछन् ? भन्नेबारे जानकारी पाउँछन् । एअरट्राफिक कन्ट्रोलर र पाइलटबीच हुने संवाद पनि सुन्न सकिन्छ ।

म्यूजियमभित्र सातओटा हल रहेको छ । यहाँ अवलोकन गर्न आउनेलाई म्यूजियमबारे डकुमेन्ट्री देखाउनेदेखि प्रथम विश्वयुद्धदेखि अहिलेसम्म प्रयोग भएका जहाजको मोडल राखिएको ट्रस्टका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले जानकारी दिए ।

यस संग्रहालयलाई अन्तर्राष्ट्रिय उडड्यन संगठन (आइकाओ)ले विश्वभर लागू गरेको ‘एनग्याप’ कार्यक्रमसँग जोडिएको छ । एनग्याप भनेको आगामी पुस्तालाई लक्षित गरेर नागरिक उडड्यनकर्मी उत्पादन गर्न सघाउने कार्यक्रम हो ।

उप्रेतीले अबको २० वर्षमा २५ हजार विमान थपिने अनुमान रहेको र ती विमान चलाउन र मर्मत गर्न इन्जिनियर एवं पाइलटको भने अभाव हुने अनुमान रहेको बताए ।

उनले युवापुस्तालाई नागरिक उडड्यनतर्फ आकर्षित गर्न र उनीहरुलाई यस क्षेत्रको वर्तमान अवस्था, भविष्यका सम्भावना र चुनौतीबारे जानकारी दिने उद्देश्यले संग्रहालयको स्थापना गरेको बताए ।

संग्रहालयमा ९ देखि १२ कक्षासम्मका विद्यार्थीले निःशुल्क प्रवेश पाउँछन् । अरु विद्यार्थीले कलेजको परिचयपत्र देखाएमा ५० प्रतिशत छुट पाउनेछन् ।

अरु नेपाली नागरिकलाई प्रतिव्यक्ति ३०० रुपैयाँ र पर्यटकका लागि भने प्रतिपर्यटक ६०० रुपैयाँ शुल्क कायम गरिएको छ ।

संग्रहालयलाई पर्यटकीयस्थलकारुपमा विकास गर्ने योजना पनि उप्रतीको रहेको छ ।

Related Articles

Back to top button