समाचार

विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित

Spread the love

काठमाडौँ , असार १५
बजेटको महत्त्वपूर्ण अंग ‘विनियोजन विधेयक २०७५’ प्रतिनिधिसभाको बैठकले पास गरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले विनियोजन विधेयक २०७५ लाई पारित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्तावअनुसार विधेयक बहुमतले पारित भएको हो ।
तर, यो विधेयक पूर्ण रुपमा पास हुन भने अझै समय लाग्नेछ। राष्ट्रियसभामा छलफल गरी पास हुन बाँकी नै छ। अब राष्ट्रियसभामा पनि सोही विधेयकमाथि छलफल हुनेछ। संसद् सचिवालयका अधिकारीहरूका अनुसार राष्ट्रियसभाले हुबहु पारित गर्ने वा थप संशोधन गर्न सक्नेछ। हुबहु वा संशोधनसहित पास गरेर राष्ट्रियसभाले प्रतिनिधिसभामा पठाउने र राष्ट्रपतिबाट प्रमाणित गराएपछि कार्यान्वयनमा जानेछ।
आगामी आर्थिक वर्षको पहिलो दिन साउन १ गते अगावै दुवै संसद्बाट पास भए सरकारलाई खर्च गर्ने बाटो खुला हुनेछ। पास हुन नसके पेस्की विधेयक ल्याई त्यसमार्फत खर्च गर्नुपर्ने हुन्छ। यसबाहेक अन्य थप तीन विधेयक पास भएपछि बजेट पूर्ण रूपमा पास भएको मानिनेछ। आर्थिक विधेयक २०७५, राष्ट्र ऋण उठाउने विधेयक २०७५ र ऋण तथा जमानत विधेयक २०७५ पास भएपछि मात्रै बजेट पूर्ण रूपमा पास भएको मानिनेछ। यी तीनवटै विधेयक संसदमा पेस भइसकेका छन्।
सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ खर्च गर्ने गरी बजेट ल्याएको छ। यसमध्ये ८ खर्ब ४५ अर्ब चालु र ३ खर्ब १३ अर्ब पुँजीगत खर्च छ। वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ। ८ खर्ब ३१ अर्ब राजस्व संकलन हुने अनुमान छ। बाँकी नपुग रकममध्ये २ खर्ब ५३ अर्ब वैदेशिक ऋणबाट ५८ अर्ब वैदेशिक अनुदानबाट स्रोत जुटाइने सरकारको तयारी छ।

Related Articles

Close