समाचार

विप्लव र राउत समूह सेनाको निगरानीमा

Spread the love

काठमाडौँ, जेष्ठ १४
नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द ९विप्लव० र सीके राउत समूहलाई शान्तिसुरक्षामा चुनौतीका रूपमा चित्रण गरेको छ । सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको ‘पृतनापति समन्वयात्मक बैठक’ मा यस्तो विश्लेषण गरिएको हो । ‘विप्लव र सिके राउत समूह शान्ति र स्थिरतामा चुनौतीका रूपमा रहन सक्ने देखिएको छ,’ बैठकमा अधिकांश रथीहरूले व्यक्त गरेको धारणा उद्धृत गर्दै एक सहभागीले भने । आन्तरिक सुरक्षाको जिम्मा नेपाल प्रहरीको भए पनि सेनाले उनीहरूको गतिविधिलाई आफ्नै तवरले नियालिरहेको सैन्य अधिकारीहरूले बताएका छन् ।

पछिल्लो समय तराईमा राउत समूहको गतिविधि बढी रहेको र यस्ता गतिविधिमा गैरसरकारी संस्थाहरूको पनि संलग्नता देखिएको विश्लेषणात्मक प्रतिवेदन पृतनाले प्रस्तुत गरेको छ । विप्लव समूह भने पछिल्लो समय हप्ता असुली र चन्दा उठाउने र सरकारी विद्यालयहरूमा सम्मेलन गर्नेजस्ता क्रियाकलाप गरिरहेको प्रतिवेदनमा उल्लेख छ । काठमाडौंकै सरकारी विद्यालयहरूमा समेत बालबालिकालाई भेला गराउने र विद्यालय प्रशासनमा आर्थिक सहायता माग्ने काम गरिरहेको भन्दै यसतर्फ बेलैमा सचेत हुनुपर्ने धारणा सेनाको छ । उनीहरूले निजी विद्यालयबाट पनि चन्दा उठाइरहेको र धम्की दिने गरेको रिपोर्ट सेनामा आएको बताइएको छ । अधिकांश पृतनापतिले बेलैमा यस्ता समूहलाई नियन्त्रण गर्न नसके समस्याकै रूपमा फैलन सक्ने निष्कर्ष निकालेका छन् ।

राष्ट्रिय सुरक्षा परिषदको बैठकमा समेत यो प्रतिवेदन सुनाइँदै छ । बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्यसमीक्षा गरेका थिए । ‘समीक्षात्मक बैठकमा सबै पृतनापति तथा विभागीय प्रमुखहरूले आआफ्ना कामका समीक्षा र वस्तुस्थितिबारे सुझावसहितको धारणा व्यक्त गर्नुभएको थियो,’ सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले भने ।

Related Articles

Back to top button