समाचार

प्रधानमन्त्री ओलीद्वारा मोदीको नेपाल भ्रमणमा गरिएका सम्झौताबारे संसदलार्ई जानकारी

Spread the love

काठमाण्डौ, ३० बैशाख
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण र यसक्रममा गरिएका सम्झौता र सहमतिका बारेमा संसदलार्ई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्तिप्रति भने असन्तुष्टि जनाए । मुख्यमन्त्रीको नाम नलिएपनि नागरिक अभिनन्दनका क्रममा अभिव्यक्त भएका कतिपय कुरा राष्ट्रिय मर्यादा, कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त भएको उल्लेख गरे ।

यो नेपाल सरकारको नीति अनुसार नभएको पनि उनको भनाइ छ । जनकपुरधाममा शुक्रबार आयोजित मोदीको अभिनन्दन समारोहमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विभेदकारी भएको अभिव्यक्ति दिएका थिए । विभेदकारी संविधान र प्रादेशिक अधिकारका लागि आफूहरुको संघर्ष जारी रहेको राउतको भनाइ थियो । संघीय संसदको दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैमा आज पनि आर्थिक वर्ष २०७५÷०७६ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुनेछ । बिहीबारदेखि शुरु भएको छलफल दुई दिन स्थगित भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका लागि दुई दिन बैठक स्थगित गरिएको थियो । बजेटका प्राथमिकता र सिद्धान्त पारित भएपछि सरकारका तर्फबाट संसदमा नीति तथा कार्यक्रम पेश गरिनेछ ।

Related Articles

Back to top button