विचारसमाजस्थानीय

बन्दाबन्दीमा कोरोनाले बालबालिकामा पारेको नकारात्मक प्रभाव न्यूनीकरणमा सरोकारवालाको भूमिका

Spread the love

जेठ २ । विश्वमा आक्रान्त रुपमा फैलिरहेको कोरोना भाइरसको दोस्रो लहर संगै आम जनमानसमा स्वास्थ्यमा समस्या त छँदै छ, त्यसमाथि मानसिक चिन्ताले झन् जटिल रूप लिएको छ। सामाजिक सञ्जालमा आएका प्राय खबरले मानिसहरूलाई सचेत हुन प्रेरित गरेता पनि संक्रमित हरुको संख्या दिनानुदिन बढिरहेको, विविध कारणले कोरोना जित्न नसकी मृत्युको मुखमा पुगेका मानिसहरू, दैनिक देखिएका हार्दिक श्रद्धाञ्जलीका फोटो सहितको पोस्टहरुले आफू पनि संक्रमित भई उक्त जोखिम मोल्न बाध्य हुने होइन भन्ने कारणले मानिसहरूको मनोबल कमजोर बन्दै गइरहेको सजिलै आँकलन गर्न सकिन्छ।
कोरोना भ्याक्सिन नेपालमा आई पुगेता पनि प्रत्येक नागरिकमा पुर्याउन नसकेको, र एक डोज तथा दुई डोज भ्याक्सिन लगाइसकेका विभिन्न चिकित्सकहरु, स्वास्थ्यकर्मीहरु, पत्रकारहरु, कर्मचारीहरु, ६० वर्ष माथिका वृद्धहरु आदि पनि कोरोना बाट संक्रमित भएको समाचार आइरहँदा खोप प्रति पनि पूर्ण विश्वास गर्न नसकिएको अवस्था आएको छ।

झन् विद्यालय जाने उमेर भएका बालबालिकाहरु वा १८ वर्ष मुनिका बालबालिकाहरूको लागि कोरोना भ्याक्सिनको कुनै परिक्षण नभएको र उक्त उमेरका बालबालिकाहरू संक्रमित हुनेको संख्या पनि दिनानुदिन बढिरहेको कारणले विद्यालय बन्द गराउने निर्णयसँगै बालबालिकामा देखिएको स्वास्थ्यमा जटिलता त छँदै छ र यसबाट पर्न जाने मानसिक समस्याको लागि प्रत्येक अभिभावकहरू साथै शिक्षक, विद्यालय प्रशासनले पनि अब कस्तो रणनीति अपनाउने पनि सोच्न जरुरी छ।दभौतिक उपस्थितिमा विद्यालय उपस्थित हुन नसक्ने स्थिति भएता पनि संभव भएका विद्यालयहरुले अनलाइनको माध्यमबाट भर्चुल कक्षा सञ्चालन गर्दै आइरहेका छन्। साथीहरु र शिक्षकहरुसंग केहि समय बिताएर अन्तरक्रिया छलफल गर्दा केही चिन्ता कम भएको बताएपनि बाँकी विविध कारण विशेष गरी गरिबीको कारणले अनलाईन को पहुंचमा पुग्न नसकेका बालबालिकाहरूमा पर्न गएको मानसिक समस्याको निराकरण कसले गर्ने?
म आफुपनि शिक्षक भई दैनिक विद्यार्थी हरुसंग अनलाईन पद्धतीबाट शिक्षण सिकाई, छलफल अन्तरक्रिया गर्दा उनीहरूको प्रश्न तथा उत्तरहरु सुन्दा मनमा ग्लानि महसुस हुन्छ।

प्रतिमा अधिकारी
शिक्षक, श्री त्रिभूवन शान्ति नमूना मा.वि

“मिस अब हाम्रो परीक्षा कहिले हुन्छ?“
“मिस अब त हामी यो वर्षभरि विद्यालय आउन पाइँदैन होला है घरमा बस्दा बस्दा सार्है अत्यार लाग्यो। सबै जना आफ्नो आफ्नो मोबाइल मात्र व्यस्त हुनुहुन्छ घरमा ।“
“मिस अब त सधैं यही कक्षा, कोर्ष मात्र कति पढ्ने अर्को कक्षाको पढ्न पाएनी हुन्थ्यो नि।“
“मिस सरिता त घरमा उसको बाबाले मोबाइल ईन्टरनेट नजोडिदिएर अनलाईन कक्षामा जोडिन सकेकी छैनन्।“
“मिस राम त घरमा दिनभरि रातभरि फ्रीफाएर, पबजी गेम खेलेर टाउको आँखा दुख्यो भनी आज क्लासमा आएको नैं छैन।“
“संगीतको अंकल त कोरोना लागेर मृत्यु भएछ। मैले फेसबूकमा फोटो देखेको थिए। हामी पनि कोरोना लागि मरिन्छ क्या है?“
यस्ता विविध प्रश्नहरु जुन कोविड ले शिक्षा क्षेत्र मा पर्न गएको अस्तब्यस्ततामा सम्बन्धित अविभावक तथा शिक्षा क्षेत्रसंग सम्बन्धित निकायहरु ले समस्याको पहिचान गरी समयमै सही निर्णय गर्न नसकेकोले बालबालिकामा वर्तमान समयमा मानसिक समस्याहरू देखा परिसकेको छ। यी समस्याहरूको

समाधान गर्न परिवार तथा शिक्षकहरुले विभिन्न परामर्श, सल्लाह समयमै दिन नसकेको खण्डमा झन् जटिल बन्ने पो होइन भनी अनुमान सजिलै गर्न सकिन्छ। केही अभिभावकहरू आफ्नो बाबुनानीहरु संग समय बिताउनु, रमाइलो गर्नु भन्दा बढी समय मोबाइलमै सामाजिक सञ्जालमा बिताएको पाइएको छ। आफूहरु हर समय मोबाइलमै व्यस्त भई छोराछोरीले केही भन्न खोज्दा चुपलाग उता जा भन्दै बढी मोबाइल नचलाई पढेर बस भन्दै गाली गर्नु कतिको सान्दर्भिक होला खै?
जसले बालबालिकामा झन् बढी मानसिक समस्या,परिवार प्रति वितृष्णा उत्पन्न हुन्न होला र? बन्दा बन्दीको समयमा अभिभावकहरुले केही समय छोराछोरीहरू सँगै समय बिताउने, रमाइलो गर्ने,दैनिक घटेका घटनाको छलफल गर्ने,मनोबल बढाउन उत्प्रेरित गर्ने,घरायसी काममा सरिक गराउने आदि कार्य गरे देखि उनीहरूमा परिवार प्रति सकारात्मक धारणा , साथै व्यवहारिक ज्ञान पनि हासिल हुने र मानसिक चिन्ता पनि कम हुने हुन्छ। बालबालिकाहरूको मानसिक,समाजिक, संवेगात्मक पक्षको विकास भए पछि मात्र शैक्षिक पक्षको सुधार हुन थप सहयोग हुने हुँदा अविभावक हरुले सामाजिक सञ्जालबाट सूचना हासिल गर्दै यसबाट पर्न सक्ने सकारात्मक तथा नकारात्मक असरको पहिचान गरी मनोबल दर्‍यो बनाई यो विषम परिस्थितिमा आफू र बालबालिकाहरूको सम्पूर्ण पक्षहरुको विकास गर्न विशेष पहल गर्नुहुन आग्रह गर्दछु।
लेखक : प्रतिमा अधिकारी
शिक्षक, श्री त्रिभूवन शान्ति नमूना मा.वि

Related Articles

Close