समाचारसमाज

अब कक्षा १० मा पनि विद्यार्थी भर्ना हुन पाउने , नयाँ शैक्षिक सत्र असारदेखि : शिक्षामन्त्री श्रेष्ठ

Spread the love

फाल्गुन ४,  काठमाडौँ — अबदेखि कक्षा १० मा विद्यार्थी भर्ना हुन पाउने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संशोधन प्रस्ताव गरेअनुसार शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ राजपत्रमा प्रकाशित भएसँगै प्रावधान खुला गरिएको हो ।

हालसम्म कक्षा १० मा विद्यार्थी भर्ना प्रावधान थिएन । ऐन तथा नियमावलीअनुसार कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि सम्बन्धित विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) दिन पाउने प्रावधान राखिएको छ ।

शिक्षा नियमावली, २०५९ को नियम ८० मा स्थानान्तरण प्रमाणपत्र सम्बन्धी व्यवस्था रहेको छ । उपनियम (२) मा ‘उपनियम (१)मा जुनसुकै कुरा लेखिएको भए तापनि कक्षा दशमा अध्ययन गर्ने विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र दिइने छैन’ उल्लेख थियो । सोही नियमलाई संशोधन गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड एसईई परीक्षा नियन्त्रक रामराज खकुरेलले नियमावली संशोधन भएसँगै कक्षा १० मा विद्यार्थी भर्ना हुन वा स्थानान्तरण हुन सक्ने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने बताएका छन् ।

मंगलबार सफलता एचआईभी शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि सुरु हुने बताएका हुन् । यसका निम्ति मन्त्रालयले तयारी गरीसकेको उनको भनाई छ ।

त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्‌मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए ।

आगामी दिनमा एचआईभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए । मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एचआईभी संक्रमितहरुले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरुको कदर र सम्मान हुनुपर्ने बताए । सबै विद्यालयहरुमा सामाजिक रुपान्तरण रहेको उनको भनाइ छ ।

 

Related Articles

Close