समाचार

मुख्यमन्त्रीहरुको दबाब : काठमाडौंबाट कसैलाई नपठाऊ, भारतीय सीमामा कडाइ गर

Spread the love

२९ चैत, काठमाडौं । लकडाउन खुकुलो पार्ने र सीमापारी रहेका नेपाली नागरिकलाई भित्र्याउने चर्चा चलिरहेका बेला प्रदेश सरकारहरुले त्यसो नगर्न केन्द्र सरकारलाई दबाब दिएका छन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले खतराको घण्टी बजाइसकेको भन्दै लकडाउन र सीमाबन्दीमा तलमाथि नगर्न सुझाव दिएका हुन् ।

प्रधामनन्त्री ओलीसँगको भिडियो कन्फरेन्समा मुख्यमन्त्रीहरुको साझा कुरा थियो, ‘कुनै पनि बाहनामा भारतसँगको सिमानाबाट मान्छे आवतजावत गर्न नदिने । काठमाडौंबाट एक दिनमात्र होइन, एक घण्टा पनि कसैलाई बाहिर नपठाउने र लकडाउन भारतको अवस्था हेरेर मात्र खुकुलो बनाउने नत्र अझ कडाइ गर्ने ।’

कोभिड–१९ को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउन तेस्रो सातामा चलिरहेका बेला प्रधामन्त्री ओलीले शनिबार मुख्यमन्त्रीहरुसँग चार घण्टा भिडियो कन्फरेन्समा छलफल गरेका थिए । उनले अहिलेसम्म भोग्नु परेका समस्यबारे चासो राख्दै संघ सरकारलाई सुझाव दिन आग्रह गरेका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले केही दिनअघि काठमाडौंमा अलपत्र परेकाहरुलाई गन्तव्यमा पठाइदिने नाममा लकडाउन खुकुलो बनाउन खोजिएको भन्दै आपत्ति जनाएका थिए । आफूहरुकै आपत्तिपछि संघीय सरकार आफ्नो निर्णयबाट पछि हटेको भन्दै उनले अहिलेको अवस्थामा भावुक भएर महामारीविरुद्धको लडाइमा सम्झौता गर्न नहुने बताएका छन् ।

गुरुङले अलपत्र परेकाहरुलाई जो जहाँ छन्, त्यहिँ आधारभूत सुविधा तथा राहत दिनुपर्ने भन्दै काठमाडौंबाट कसैलाई पनि बाहिर नपठाउन आग्रह गरिएको बताए । काठमाडौंबाट छाड्नासाथ देशैभरि दबाब आउने र त्यसले भयावह अवस्था आउने मुख्यमन्त्रीहरुको साझा सरोकार रहेको उनले बताए ।

मुख्यमन्त्रीहरुले भारतसँगको सीमामा कुनै कमजोरी हुन नदिन संघीय सरकारको ध्यानाकर्षण गराउका छन् । सिमावारी रहेका भारतीयलाई नेपालले र पारी रहेका नेपालीलाई भारतले व्यव्स्था गर्ने सम्झौता भइसकेकाले सीमा खुलाउने गल्ती नगर्न आफूहरुले सुझाव दिएको गुरुङले बताए ।

प्रधानमन्त्रीसँगको छलफलपछि गुरुङले  भने, ‘भारतमा संक्रमण एकदमै बढेको छ । भारतको स्थिति हेरेरमात्र लकडाउनको बारेमा अन्य निर्णय गर्नुपर्छ । नत्र अहिलेको लडकडाउन अझ कडाइ गर्ने, देशभित्रको आवागमन पनि रोक्ने र राहतको व्यवस्था एकद्धार प्रणालीबाट गर्ने सुझाव हामीले दियौं ।’

त्यस्तै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि भारतमा संक्रमण फैलिएकाले सीमाबाट कसैलाई छिर्न दिन नहुने बताए । सबै प्रदेशको चिन्ता सीमा नाका कडाइ गर्ने र देशभित्र लकडाउन बलियो बनाउनेमै रहेको उनको भनाइ छ ।

हवाइ मार्गबाट आउनेहरुका कारण नेपालमा संक्रमणको जोखिम नरहेकाले भारतको सीमा नै नेपालका लागि जोखिम भएकाले कुनै पनि बाहनामा कसैलाई छिर्न नदिन आग्रह गरिएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताए ।

मुख्यमन्त्रीहरुले सीमा सुरक्षाको जिम्मेवारी संघीय सरकारको भएको भन्दै प्रधानमन्त्रीलाई दबाब दिएका हुन् । मुख्यमन्त्री राईले भने, ‘हामीले प्रधानमन्त्रीलाई भनेका छौं, भारतको सीमानामा अझै कडाई गरौं । भारतबाट कोही आउन नदिऊँ । आएकालाई परीक्षणमा लैजाने, बाँकीलाई पूर्ण रुपमा लकडाउनमा राख्ने भनेका छौं ।’

उनले अघि भने, ‘संकटमा भावुक कुरा गरेर केही हुन्न, मुख्य दायित्व यो लडाइँ जित्ने हो ।’

Related Articles

Back to top button