मनोरञ्जनसमाचार

आज दर खाने दिन

Spread the love

भदौ १५ ।
शताब्दीऔं देखि महिलाहरुको शौभाग्यकालागि तिज पर्वलाइ लिने गरिन्छ । तीजको व्रतमा दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो तिज । यसरी सबैजना नारीहरु एकैठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मिठा मिठा परिकारहरु खाने चलन नै दर हो । सामान्यतया ढकने, आलुदम, आलु(कवाफ, दुध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरु सेवन गर्ने चलन छ । अझ बिवाहित चेलीकालागि त दरको महत्व बास्तवमैं अगाढ स्नेहमयी हुन्छ । माईतीको निम्तोमा दर खान पुगेका चेलीहरु आजको दिन आमा, हजुर या भाउजुहरुको स्नेहमा लुटपुटिदैं उपरखुट्टि लगाएर घरको कुनै सुर्ता नराखि खाने, रमाउने चलन छ । तीजमा माइत जाने लालसा, नयाँ सारी लाउने चाहना, गाउने गीतका भाका अनि अविवाहित महिलाहरुकालागि भनेजस्तो राम्रो जीवनसाथी पाउँ भन्ने अघोषित वरदानहरू तीजका सर्वमान्य तथ्यहरु हुन् । दर खाने दिनका याद गर्दै माईत जान नपाएका चेलीहरुको वेदना पनि गहभरि आँशुसंगै पोखिन्छ छताछुल्ल, कहिले गीतमा त कहिले प्रीतमा । तिजका कैयन भाकाहरु छन् जसलाई लैबरीको भाकामा तिजाम्य वेदना पोख्न प्रयोग गरिएको छ, शदियौं देखि नेपाली समाजमा ।

यसपालाको बाढिपहिरोले धेरै चेलीका घरहरु अनि धेरैका माईतहरु बगाएको छ अनि संगसंगै तिनीहरुको सपना र आकांक्षाहरु पनि । बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्कीभित्र बगेका राता सारी अनि गहनाहरु पानीको भेलले कता पुर्याए कता ? तीजको यो लहर यसबर्ष सबैतिर समान छैन्, यता नाचगान हुँदैगर्दा उता रुवावासी हुँदैछन्, यता सारीको सप्कोले नाचेर फर्किएपछिको पसिना पुछ्दैगर्दा उता सारीका सप्कोले आँशु पुछिरहिनेछ । मिठा पकवानमा र सङ्गीतमा झुमेका यताका दरहरु उता चुर्लुम्म डुबेको दैनिकिमा चिउरा दालमोठसंग मेल नखान सक्छन् ।

तीज एउटा संस्कारमात्र नभई सभ्यता हो, हेर्नेले यसलाई नारीवादी चाडका रुपमा हेर्दछन तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भनें तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । आमा, छोरी, बुहारी, सासु, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरुको साझा चौतारीका रुपमा तीजलाई लिन सकिन्छ । वैदिक हिन्दू सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतिक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्रादि पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेलाभई नाचगान गर्दै रमाइलो गर्ने चलन रहि आएको छ ।

जे होस् आज दरखाने दिनको हामी सबैलाई मुरी मुरी शुभकामना, हामी सबैजनाको परिवारको सु(स्वास्थ्य र दीर्घायू कायम होस्, भनेजस्तो जीवनसाथी पाइयोस् अनि सम्पूर्ण दिदि बहिनीहरुको शौभाग्य अटल रहोस् गाउँले मिडियाको शुभकामना ।

Related Articles

Close