समाचारस्वास्थ्य

दीपावलीमा दियो बाल्नका कारण

Spread the love

कात्तिक १७ ।

तिहारलाई किन दीपावली भनिएको होला ? तिहारमा किन दियो बालिएको होला ? के यो रमाइलोसँग मात्र सम्बन्धित छ ?
तिहारमा दियो बाल्नु वा झिलिमिली बनाउनुको खास अर्थ र महत्व छ । धार्मिक, सामाजिक, मनोवैज्ञानिक महत्व छ ।

तिहार शरद ऋतुमा पर्छ । यो भनेको जाडो महिनाको प्रारम्भ हो । यही बेलादेखि वायुमण्डलमा चिसो हावा चल्न थाल्छ । रात लामो र दिन छोटो हुन्छ ।  हरियाली हराउँदै जान्छ । मौसम सुख्खा र उदास हुन्छ । ठिक यही सेरोफेरोमा हामी दीपावली मनाउँछौं ।

औंसीको अँध्यारो रातमा हामी झिलिमिली दियो, बत्ती बालेर तिहार मनाउँछौं । यसलाई दीपोत्सव पनि भनिन्छ । ‘तमसो मा ज्योतिर्गमय’ अर्थात अँध्यारोबाट उज्यालोतर्फ जानुपर्छ यो उपनिषदको आज्ञा हो । दीपावली स्वच्छता वा प्रकाशको पर्व हो । यसले अध्याँरोलाई जितेर उज्यालोको नजिक जानुपर्छ भन्ने संकेत गर्छ । दियोलाई स्कन्द पुराणमा सूर्यको हिस्साको प्रतिनिधित्व गर्ने मानिएको छ । सूर्य, जो जीवनका लागि प्रकाश र उर्जाका लौकिक दाता हो । र, हिन्दु क्यालेन्डर अनुसार कार्तिक महिनामा सूर्यले आफ्नो स्थिती बदल्छ । अँध्यारोलाई असत्य र उज्यालोलाई सत्यको प्रतिक पनि मानिन्छ । यसले सत्यले असत्यमाथि विजय प्राप्त गर्छ भन्ने पनि जनाउँछ ।

पंक्तिवद्ध दिपको महत्व

जब बारीको कान्लामा लहलह सायपत्री फूलेको देखिन्छ, हामीलाई तिहारको झझल्को आउँछ । सायपत्रीको सुगन्धले पनि हाम्रो मनमा बेग्लै रोमाञ्चकता पैदा गर्छ ।

तर, अहिले प्लाष्टिकको फूल छ्यापछ्याप्ती छ । के प्लाष्टिकको फूलले सायपत्री फूलको जस्तै मनलाई सुशोभित गराउँछ ? पक्कै गराउँदैन । त्यस्तै अहिले विद्युतिय दियोको प्रचलन छ । जबकी विद्युतिय दियोले प्राकृतिक दियोको रौनक ल्याउँदैन । माटोको दियोमा तेल वा वनस्पति घिउ राखेर जलाइने दियोले तिहारको रौनक ल्याउँछ । तर, विद्युतिय दियोमा त्यस्तो अनुभूत गर्न सायदै सकिएला ।

तर, आज हामीलाई हतार छ । छिटो-छरितो ढंगले कुनैपनि काम फत्ते गर्न चाहन्छौं । यस्तो अवस्थामा हामीलाई प्लाष्टिकको फूल, विद्युतिय दियो सहज लाग्छ । यद्यपी तिहारमा घरै झिलिमिली हुने गरी दियो बाल्नुको पनि अर्थ छ । यसको धार्मिक तथा सांस्कृतिक महत्व छ ।

तेत्रायुगमा सुरु भएको थियो, दियो बाल्ने चलन

दीपावली दुई शब्द मिलेर बनेको छ, दीप र आवली । दिप भनेको बत्ती हो । जबकी आवली भनेको पंक्तिवद्ध हो ।  र, जब दीप र आवली एक आपसमा मिल्छन्, तब दीपावली बन्छ ।

यस सम्बन्धमा धार्मिक कथन पनि छ ।

भनिन्छ, तेत्रायुगमा जब भगवान श्री राम, लक्ष्मण तथा सीताले चौध वर्षको वनबास पूरा गरी आˆनो घर फर्किएका थिए, तब कार्तिक महिनाको कृष्ण पक्षको आंैसी थियो । अयोध्यावासीले उनीहरुको आगमनको खुशीमा प्रत्येक पाइलामा पंक्तिवद्ध रुपमा दियो बालेका थिए । त्यही समयदेखि पंक्तिवद्ध रुपमा दियो बालेर दिपावली मनाउन थालिएको विश्वास छ ।

यसबाहेक पनि अर्को भनाई छ, दिपावलीमा दियो जलाउनाले माता लक्ष्मी र भगवान गणेश प्रशन्न हुन्छन् । र, सुख, शान्ती तथा समृद्धिको आर्शीवाद दिन्छन् । धर्मशास्त्रहरुमा उल्लेख भए अनुसार घरमा दियो जलाउनाले घर शुभ हुन्छ । घरमा सुख, शान्ती तथा समृद्धीले प्रवेश  गर्छ । अशुभ कुरा नष्ट भई वातावरण समेत सकारात्मक हुन्छ ।

यसलाई फरक ढंगले पनि व्याख्या गरिन्छ । औंशीको रात भनेको कालो रात हो । यस रात दियो जलाउँदा उज्यालो छाउँछ । यसले के संकेत गर्छ भने, अँध्यारोलाई जित्नका लागि उज्यालो चाहिन्छ । चाहे मनको अँध्यारो होस् वा अज्ञानताको, आफैभित्रको अँध्यारोलाई जित्नका लागि ज्ञानको, उमंगको उज्यालो आवश्यक हुन्छ ।

दीपावली र लक्ष्मीको आगमन

लक्ष्मी धनकी देवी । अर्थात धनको प्रतिक मानेर लक्ष्मीको पूजाआजा गरिन्छ । जब हामी धन-ऐश्वर्य प्राप्त गर्ने इच्छा राख्छौं, त्यसका लागि घर उज्यालो र आकर्षक हुनुपर्छ । यस्तै संदेश दिनका लागि दीपावलीमा दिप जलाउने, घर सफासुग्घर राख्ने, फूलमालाले सजाउने गरिन्छ ।

दियो बाल्दा छुटाउन नहुने स्थान

दिपावलीमा माटोको दियोकोे विशेष महत्व हुन्छ । घरका कुनामा बत्ती बाल्दा यो कुरा जान्न जरुरी छ, कि कुन कुन स्थान महत्वपूर्ण छ । घरमा दियो बाल्नु पूर्व सबैभन्दा पहिले माता लक्ष्मी तथा भगवान गणेशको तस्विर वा मुर्तीको अगाडि दियो बाल्नु पर्छ ।  त्यसपछि घरको कुलदेवता, इष्ट देवता तथा गंगा माताको नाममा दियो जलाउनु पर्छ । यी दियोलाई घरको मन्दिर वा आसपासको कुनै मन्दिरमा राख्नुपर्छ ।

त्यसपछि घरको मुल ढोका, अन्य झ्यालढोका, बार्दली हुँदै घरको छतमा दियो जलाउनु पर्दछ । नजिकैको पिपलको बोटमा पनि दियो जलाउनु पनि शुभ मानिन्छ ।

Related Articles

Close