समाचार

दीपक मनाङेलाई प्रदेशसभा सदस्यमा शपथ, भन्छन्–भोलिबाटै संसद आउँछु

Spread the love

माघ १४, काठमाडौं ।

मनाङ ख बाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपक मनाङे (राजीव गुरुङ) लाई शपथ ग्रहण गराइएको छ । उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहणलगत्तै उनले आफूले जनतालाई गरेको वाचाअनुसार काम गर्ने बताए । “मैले जनतासँग गरेको वाचा पूरा गर्नेछु,” उनले भने, “भोलिदेखि नै संसद आउँछु ।” सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका उनले पुस ११ गते नै आफूलाई सपथ ग्रहण गराउन माग गर्दै निवेदन दिएका थिए । सर्वोच्चले मनाङेलाई जेलबाहिरबाटै मुद्दा लड्न पाउने गरी थुनामुक्त गर्न आदेश दिएको थियो । ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनलाई वैशाख ७ गते काठमाडौं प्रहरी परिसरको टोलीले स्वयम्भूबाट पक्राउ गरेको थियो ।
गत माघमा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुरानवेदन अदालतको सजाय सदर गरेको थियो । त्यसपछि उनी फरार रहेका थिए ।  प्रदेशसभामा उनले स्वतन्त्र उमेदवारी दिएको भए पनि एमालेका तत्कालीन उमेदवारले उनका लागि उमेदवारी फिर्ता लिएर उनलाई सहयोग गरेका थिए । मनाङको समूहले २०६१ सालमा मिलन गुरुङलाई खुकुरी प्रहार गरेका थिए । त्यही घटनामा प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको थियो । जिल्ला अदालत काठमाडौंले मनाङेलाई २ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्ट्याउँदै पुनरावेदन अदालत पाटनले २०६९ सालमा ज्यानमुद्दा ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएका थिए ।

Related Articles

Close