अन्य

तेस्रो लिंगीको चुनावः मैदानमा पिंकी, शिल्पालाई एमालेले धोका दियो

Spread the love

२४ कात्तिक, काठमाडौं ।  ठूला दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तेस्रो लिंगी समुदायलाई पन्छाएका छन् । समावेशिताको वकालत गर्ने ठूला दलले कहीँ कतै पनि तेस्रो लिंगीलाई उठाएका छैनन् भने नयाँ शक्तिले समानुपातिकको सूचीमा १ जनाको नाम राखेको छ ।

नयाँ शक्ति नेपालले नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङ (सञ्जीव) लाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको हो । नयाँ शक्तिले पिंकीलाई प्रत्यक्षतर्फ नभएर समानुपातिकको उम्मेदवार बनाएको हो । आयोगले सार्वजनिक गरेको समानुपातिकको सूचीमा उनको नाम ३ हजार ४ सय ७४ नम्बरमा छ । ३ सय २९ जनाको नाम निर्वाचन आयोगमा बुझाएको नयाँ शक्तिले पिंकीको नाम ६ नम्बरमा राखेको छ ।

लमजुङ बिचौर स्थायी ठेगाना भएकी पिंकीले नयाँ शक्तिले दिएको अवसरबाट आफू खुसी भएको बताइन् । नीलहीरा समाजमा आवद्ध भएर आफ्नो समुदायका लागि काम गर्दै आएको दाबी गर्ने उनले आफ्नै समुदायको हितका लागि काम गर्ने योजना बनाएकी छन् । ‘नेपालमा ९ लाख तेस्रोलिंगी छन् । सम्पूर्ण जनसंख्याको ८.१ प्रतिशत तेस्रोलिंगी छन् । तर उनीहरू समाजबाट तिरस्कृत हुन बाध्य छन् । यस्तो अवस्थाको अन्त्य गर्नु अबको मेरो दायित्व हो’ उनले भनिन् ।पिंकी पार्टी स्थापना भएदेखि नै नयाँ शक्तिमा आवद्ध छिन् ।

नयाँ शक्ति पार्टीकी नेत्री हिसिला यमीले समाजले उनीहरूलाई स्वीकार्नुपर्छ भन्ने सन्देश दिन पार्टीले तेस्रोलिंगीलाई स्थान दिएको बताइन् ।

शिल्पालाई एमालेले धोका दियो

०७० सालमा माधवकुमार नेपालको अगुवाइमा एक हजार तेस्रोलिंगी एमाले प्रवेश गरेका थिए । नेपालले एमाले तेस्रोलिंगीहरूको अभिभावक पार्टी भएको पनि बताएका थिए । तर, नेपाल वरिष्ठ नेता रहेको पार्टी एमालेले नै तेस्रो लिंगी समुदायबाट कसैलाई पनि उम्मेदवार बनाएन । शिल्पा चौधरी पार्टीको सिफारिसमा परेकी भए पनि एमालेले अन्तिममा उनको नाम काटेर अरुलाई नै उम्मेदवार बनाएको हो ।

शिल्पाले अन्तिममा उम्मेदवारको सूचीबाट नाम हटाएर पार्टीले सिंगो समुदायमाथि नै अन्याय गरेको बताइन् ।

नयाँ शक्ति र कांग्रेसले आफ्नो घोषणापत्रमा तेस्रोलिंगीलाई समावेश गरेका भए पनि अन्य पार्टीहरु मौन देखिएका छन् । राप्रपा र एमालेमा तेस्रोलिंगी समुदायका व्यक्तिहरु आबद्ध छन् । यद्यपि उनीहरुले अहिलेसम्म कुनै अवसर पाउन सकेका छैनन् ।

२०७४ कार्तिक २४ गते १०:३० मा प्रकाशित

Related Articles

Close