समाचार

देशैभरी वर्षा , वीरगञ्ज, नेपालगञ्ज डुवानमा, बबई र नारायणीको बाढीले खतराको सूचक नाघ्यो

Spread the love

रातीदेखि देशैभरी अविरल वर्षा भैरहेको छ । देशका विभिन्न शहरुहरु डुवानमा परेका छन् । रातिदेखि भइरहेको अविरल वर्षाका कारण वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।

 

वीरगञ्जको श्रीपुर डुवानमा

वर्षाको पानी नालाबाट राम्रोसँग निकास नभएपछि कतिपयको घर तथा पसलहरुमा पनि पानी पसेको छ । घर तथा पसलबाट निस्कने फोहोरहरु जथाभावी सडक र नालामा नै फाल्ने गरिएको कारण नाला जाम भएर वर्षेनी पानी पर्ने्वित्तिकै वीरगञ्जका अधिकांश सडकहरु तालमा परिणत हुने गरेका छन् । नगर क्षेत्रमा एकीकृत मझौला सहरी वातारण सुधार परियोजना अन्तर्गत नाला निर्माणको काम सम्पन्न भइसकेका ठाउँमा समेत पानीको निकास नभएको गुनासो नगरबासीले गरेका छन् ।

नेपालगञ्ज डुबानमा

यसै विच अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् ।नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ । प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बाँकेको डुडुवा, राप्तीसोनारी र नदी आसपासका नागरिकलाई अग्लो तथा सुरक्षित स्थानको खोजी गर्न आग्रह गरिएको बताए ।
यसै गरी पश्चिम नेपालका ठूला नदीहरुमा जलस्तर बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्व सूचनाका अनुसार नारायणी नदको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ । नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए पनि सोमबार बिहान ११ बजेर ३५ मिनेटको रेकर्डअनुसार साढे ३ मिटर पुगिसकेको छ । यसैगरी बबईको चेपाङमा ५ मिटर ५० सेन्टिमिटर खतराको लेभल भए पनि ६ मिटर पुगिसकेको छ । अहिले खतराको जानकारी दिन साइरन बजाइएको छ ।
कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी लगायतका नदीहरुमा पनि बहाव बढ्ने क्रम जारी छ । विभागले सोमबार सूचना जारी गरेर मध्य रातदेखि बबई र पश्चिम राप्ती जलाधारका प्रायजसो स्थानमा भारी वर्षा भइरहेकाले तटिय र डुबान भइरहने क्षेत्रमा रहनेहरू उच्च सतर्कता साथ रहन अनुरोध गरेको छ । कर्णालीको बहावले चिसापानी र गुराँसे क्षेत्र जोखिममा परेका छन् । यसैगरी बबई नदीको बहावले गुलरिया, चेपाङ, रानी जरुवा, पदमपुर क्षेत्र जोखिममा छन् । राप्ती नदीको कारण नेपालगञ्ज र लमही तथा नारायणी नदीले रजैया क्षेत्र जोखिममा परेको मौसम विज्ञान विभागले जनाएको छ ।

यसै गरी गएराति देखिको अविरल वर्षा र बाढीले चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भाँसिएको छ । रिउ खोलाको पानी सतह खतराभन्दा माथि पुगेपछि प्रहरीले सतर्क रहन अपिल गरेको छ । रौतनी खोलाको पुल भाँसिएपछि माडी–ठोरी सडकखण्ड अवरुद्ध बनेको छ ।बाढी र डुवानका कारण जिल्ला सदरमुकामसँग माडीको यातायात सम्पर्क विच्छेद भएको छ । यो क्षेत्र बर्से्नि बाढीको चपेटामा पर्ने गरेको छ । गतवर्ष पनि माडीमा बाढीले ठूलै जनधनको क्षति भएको थियो ।
माडीको अधिकांश क्षेत्र जलमग्न भएकाले उच्च सर्तकता अपनाउन प्रहरीले आग्रह गरेको छ । माडीमा अधिक ठाडो खोलाहरु रहेका छन् । वर्षाले अधिकांश खोलाको पानीको बहाव बढेको छ । खोलामा पुल नभएकाले आवातजावत प्रभावित भएको छ ।

चितवनको माडी–ठोरी सडकखण्डको रौतनी खोलाको पुल भाँसिएको

 

Related Articles

Close