खेलकुुदसमाचार

फुटबल प्रशिक्षण स्थगित, खेलाडी घर फर्किँदै

Spread the love

श्रावण २८, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्‍वकप छनोटको बन्द प्रशिक्षण अर्को सूचना नआउन्जेलसम्मका लागि स्थगित गरेको छ ।

एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले मंगलबार विश्वकप र एसियन कप छनोटका बाँकी खेलहरु सन् २०२१ सम्मका लागि स्थगित भएको जानकारी दिएसँगै एन्फाले पनि बन्द प्रशिक्षण स्थगित भएको जनाएको छ ।

नेपालले भदौ १ गतेबाट विश्वकप छनोटको बन्द प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । अक्टुबर र नोभेम्बर २०२० मा छनोटका बाँकी खेल आयोजना गर्ने मिति तय भएपछि एन्फाले खेलाडीलाई बन्द्र प्रशिक्षणका लागि काठमाडौं डाँकेको थियो ।

देशका विभिन्‍न ठाउँबाट काठमाडौं पुगेका खेलाडीले प्रशिक्षण सुरु हुनु पूर्व साउन १७ गतेबाट क्वारेन्टिनमासमेत बसेका थिए । क्वारेन्टिनमा बसेका सबै खेलाडी र पदाधिकारीहरुको सोमबार र मंगलबार कोरोना परिक्षण समेत गरिएको थियो । तर, छनोटका बाँकी खेल स्थगित भए पछि बन्द प्रशिक्षण पनि स्थगित भएको हो ।

बन्द प्रशिक्षणका लागि काठमाडौं भित्रिएका फुटबल खेलाडी अब घर फर्किने भएका छन् । छनोटका बाँकी खेलको टुंगो नलागेपछि खेलाडी घर फर्किन लागेका हुन् । खेलाडी बिहीबारदेखि घर फर्किने एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले बह्रखरीलाई जानकारी दिए ।

“अब प्रशिक्षण पनि स्थगित भएको छ । विश्वकप छनोटका खेल २०२१ सम्मका लागि स्थगित भएका छन् । फिफा र एएफसीबाट छनोटका बाँकी खेलको मिति तय भए पछि हामी पुनः खेलाडीलाई प्रशिक्षणका लागि डाँक्ने छौं,” अध्यक्ष शेर्पाले भने, “२०२१ आउन करिब पाँच महिना यस्तो अवस्थामा लामो समय प्रशिक्षण गर्न सक्ने अवस्था पनि छैन् । क्वारेन्टिाइनमा राखेर खेलाडीलाई पनि मानसिक तनाब हुन सक्छ ।”

उनले थपे, “२०२१ मा पनि कहिले गर्ने भन्ने कुनै टुङ्गो छैन् । जनवरी, फव्रअरीमा भनेपनि सात महिना बाँकीछ । हामी नयाँ मिति तय भयो भने तीन महिना अगाडी बोलाउने छौ । अहिले खेलाडी भोलीदेखि घर फर्किने छन् ।”

छनोटको दोस्रो चरणको समूह बी मा रहेको नेपालले पाँच खेल खेलिसकेको छ । जसमध्ये चार खेलमा हार र एक खेलमा जित निकालेका थियो । छनोटका बाँकी तीन खेल नेपालले घरेलु मैदान दशरथ रंगशालामा खेल्ने तय भएको थियो ।

Related Articles

Close