समाचार

आज गौरा पर्व मनाइँदै

Spread the love

साउन ६ ।
उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले शुक्रबार अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने भए पनि यस वर्ष त्यसअगावै अगस्त्य ऋषिको उदय हुने भएकाले कृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्ण अष्टमीमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई अँध्यारी भनिन्छ ।

पहिलो पटक व्रत बस्नेले भने भाद्र शुक्ल अष्टमीअर्थात् उज्याली गौराबाटै शुरु गर्नुपर्ने व्रत विधान छ । “यस वर्ष अगस्ति ताराको उदय भदौ १९ गते बिहीबार बिहान १०स्१८ बजे हुने भएकाले कृष्ण अष्टमीकै दिन गौरा पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिका विज्ञ सदस्यहरुको बैठकले भदौ ६ गतेको निर्णय गरेको हो”, उनले भने । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महीना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महीनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रि लगायत ग्रन्थमा उल्लेख गरिएको छ ।

गौरालाई सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र मध्य पश्चिम क्षेत्रका मानिसको बसोवास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको छ । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महीनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन शुरु गरिएको देउडा संस्कृतिविद् गायक नन्दकृष्ण जोशीले जानकारी दिए । गौरा पूजा गर्नका लागि पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर व्रतालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृतिविद् जोशीले बताए ।
गौरा पर्वको अवसरमा गाँउले मिडियाको शुभकामना ।

Related Articles

Close