समाचार

हावाहुरीले बारामा सबैभन्दा ठूलो क्षति

Spread the love

बारा, चैत १८ । आइतबार राति आएको हावाहुरीले बाराको फेटा गाउँपालिका सबैभन्दा बढी प्रभावित भएको छ ।

फेटा वडा नम्बर–१ को भर्वलिया र ६ को पुरैनियामा ठूलो जनधनको क्षति पुर्‍याएको छ । भर्वलियामा भौतिक क्षति बढी छ ।

बाराको फेटा गाउँका झन्डै ८० प्रतिशतमा घरमा क्षति पुगेको छ । पुरैनिया गाउँमामात्रै ९ जनाको मृत्यु भयो । यहाँका घरमा पनि व्यापक क्षति पुगेको छ । बस्ती उजाड देखिन्छन् । जस्ता, फुस र खबटाले छाएका घरका सबै छाना उडेका छन् ।

बाँसको टाटीमा गोबर र माटोले लिपेको घरको निशानासमेत छैन । सिमेन्ट लगाएका इँटाको गाह्रो भएका घर पनि भत्किएका छन् । पिल्लर सिस्टमका केही घरहरुमात्रै सग्ला छन् । अन्नपात, लत्ताकपडा सबै नस्ट भएका छन् । हावाहुरीपीडितलाई खानेपानी र खानाको अभाव देखिएको छ । इनारमा पातपतिंगर र माटो परेकाले पानी पिउन लायक छैन ।

आफन्त र घर गुमाएका स्थानीयको आँखा ओभानो छैन । सबैजना पीडामा रहेकाले कसैले–कसैलाई सहयोग गर्नसक्ने अवस्था छैन । घर भत्किएपछि स्थानीयहरु खुला आकाशमा रात बिताउन बाध्य भएका थिए । तत्काल घर बनाउन पनि नसकिने र टेन्टको पनि व्यवस्था नहुँदा रात कसरी काट्ने भन्नेमा उनीहरुको चिन्ता छ ।

बिजुलीका पोलहरु ढलेकाले गाउँमा बत्ती छैन । रुखहरु ढलेर कतिपय बाटाहरु बन्द छन्  बाराका इँटाभट्टाहरुमा पनि व्यापक क्षति पुगेको छ । भट्टाका चिम्नी भाँचिएका छन् । स्थानीय प्रशासनले क्षतिको विवरण संकलन गर्न र पीडितहरुलाई राहत उपलब्ध गराउने काम सुरु गरेको छ ।

Related Articles

Close