समाचार

मुस्ताङ, दोलखा, गोरखा, तेह्रथुम, संखुवासभा क्षेत्रमा हिमपात,

चिसोले जनजिवन कष्टकर

Spread the love

९ माघ ।
बाक्लो हिमपातपछि मुस्ताङमा पहिरो गएको छ । घरपझोङ गाउँपालिका–२ छैरोमापहिरो गएको हो । घरपझोङगापा(१ मार्फा र २ छैरो बिचमा कालीगण्डकी नदीले बनाएको साँघुरो गल्छीमा गएको सुख्खा पहिरोले कालीगण्डकी केहीबेर अवरुद्ध भएको थियो । ‘बिहान केही बेर कालीगण्डकी अवरुद्ध भएको रहेछ । अहिले नदी बगेको छ तर सानो ताल परेको छ । जोखिम भने छैन’ घटनास्थलमा रहेका प्रहरी निरीक्षक थमनबहादुर रजालीले भने,‘नदी किनाराको अग्लो डिल मध्य २० मिटर जति भत्केर कालीगण्डकीमा खसेको हो ।’ बेनी–जोमसोम सडकको टुक्चे र मार्फा खण्डमा पर्ने सामाग्री भन्ने ठाउँको पूर्वपट्टिको पाखो बगेर नदीमा खसेको हो । पहिरो गएको क्षेत्रमा अहिले १ फिट बढी बाक्लो हिउँ जमेको छ । भूकम्पपछि चर्किएको क्षेत्रमा बाक्लो हिमपात हुँदा पानी सिपेज भई पहिरो गएको स्थानीयले बताएका छन् । यसै गरी पर्यटकीय बस्ती घोडेपानी समेत जिल्लाको उच्च हिमाली क्षेत्रका बस्तीहरुमा परेको बाक्लो हिमपातले जनजीवन प्रभावित भएको छ ।
बाक्लो हिमपातले पर्यटकिय क्षेत्र घोडेपानीमा पैदल आवतजावत बन्द भएको छ । हिमपातले जिल्लाको लुलाङ्ग, मुदी, कुईने, स्वाता, चित्रे, घोडेपानी लागएतका बस्तीको जनजीवन प्रभावित भएको छ ।
यसै गरी दोलखाको उच्च स्थानमा बुधबार बिहानदेखि हिमपात भएको छ । यो वर्षको सबैभन्दा ठूलो हिमपात भएको खरिढुंगाका ६६ वर्षीय मेजरमान तामाङले बताए ।
यसै विच सामान्य वर्षासँगै गोरखाका विभिन्न स्थानमा हिउँ परेको छ । बुधबार गोरखाको दुर्गम उत्तरी छेकम्पार, सामागाउँ, ल्हो, विही, प्रोक र लाप्राकको गुप्सीपाखामा हिउँ परेको हो । हिउँ परेपछि चिसो बढेको छ । जनजीवन कस्टकर भएको लाप्राकका स्थानीय भविराज गुरुङले बताए । लाप्राकमा एक फिटभन्दा बढी हिउँ परेको स्थानीयको भनाइ छ । गोरखाका अरु भागमा भने पानी परेकाले चिसो बढेको जनाइएको छ ।
यसै गरी वर्षासँगै तेह्रथुम र संखुवासभाका डाँडाकाँडामा बुधबार मध्याह्नबाट हिमपात भइरहेको छ । तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे बनेका छन् । यो क्षेत्रमा सिजनमै बाक्लो हिमपात भएको छ । दशकपछि यी जिल्लाका तल्लो क्षेत्रसम्म पनि हिमपात भएको हो । टीएमजे क्षेत्रका तीनजुरे, चौकी, मंगलबारे, गुफापोखरी, मेन्छ्यायेम डाँडा, मिल्केलगायत क्षेत्र हिउँले ढाकेको छ । बुधबार मध्याह्नबाट निरन्तर हिमपात भइरहेको र अहिलेसम्म तीन फिटसम्म हिमपात भएको पर्यटन सूचना केन्द्र गुफाबजारका सचिव सन्तोष लिम्बूले बताए । हिमपातका कारण उच्च क्षेत्रका बस्तीका बासिन्दा घरबाहिरसमेत निस्कन सकेका छैनन् । वर्षा र हिमपात एकसाथ भएका कारण ह्वात्तै चिसो बढेको ओयाक्जुङका स्थानीय दीपक थाम्देनले बताए । चिसोका कारण जिल्लाका सर्वसाधारणको जनजीवन कस्टकर बनेको छ ।

Related Articles

Check Also

Close
Close