खेलकुुदसमाचार

हिसान स्पोर्टस मिटमा २ हजार विद्यार्थीले खेल्ने

Spread the love

माघ ५ , विराटनगर । निजी विद्यालय तथा कलेजहरूको छाता संगठन (हिसान) मोरङको आयोजनामा मंगलबारदेखि हिसान स्पोर्टस मिट २०७६ हुने भएको छ ।

हिसान मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारीबारे जानकारी गराएको छ । हिसानका जिल्ला अध्यक्ष राजेश कार्कीले माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा २० विद्यालयका २ हजार विद्यार्थी सहभागी हुने जानकारी दिए । भने, ‘‘बाह्र दिनसम्म चल्ने प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल, एथलेटिक्स र बास्केटबल समावेश गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ६ वटा उपसमिति गठन भएका छन् ।’’ प्रतियोगितामा रु. ११ लाख खर्च हुने अनुमान गरिएको कार्कीले बताए ।

भलिबल र क्रिकेट खेलका लागि विराटनगरको डिग्री कलेजको खेलमैदान  बास्केटबल मेरिल्यान्ड कलेजमा हुने आयोजकको भनाइ छ । यसैगरी सहिद रंगशालमा फुटबल प्रतियोगिता हुनेछ ।

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले प्रदेश १ को राजधानी विराटनगरमा आयोजना हुने प्रतियोगिता भव्य हुने सुनाए । ‘‘विद्यालय तथा कलेजहरूले स्पर्धामा भाग लिने विद्यार्थीलाई तयार गरेका छन्,’’ पोखरेलले भने, ‘‘हिसानमा भाग लिएका धेरै खेलाडीले राष्ट्रिय रूपमा समेत आफ्नो परिचय स्थापित गर्न सफल बनेका छन् ।’’

आन्तरिक अभ्यास र खेल सामग्री व्यवस्थापनका लागि विद्यालय तथा कलेजहरूले कम्तीमा २ लाख ५० हजार खर्च गर्ने पोखरेलले बताए । बैजनाथपुर रंगशाला मर्मत गर्न भन्दै प्रदेश सरकारले पिच खनेका कारण यो पटक क्रिकेट म्याट राखेर डिग्री कलेजमा खेलाउनु पर्ने बाध्यता आइलागेको आयोजकको भनाइ छ ।

Related Articles

Close