समाचार

सबै हस्पिटल तयार रहन पोखरामा मुख्यमन्त्रीको निर्देशन

Spread the love

पोखरा, २७ फागुन ।  कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि पोखरामा पूर्व तयारी स्वरुप आइसोलेसनको लागि ८० बेड तयार पारिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरस रोकथाम र नियन्त्रणको पूर्व तयारी स्वरुप पोखरामा  र आसपासका अस्पतालमा आइसोलेसनको लागि ८० बेड तयार पारिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले बताए ।

उनका अनुसार चरक मेमोरियल हस्पिटलमा ३०, गण्डकी मेडिकल कलेजमा १५, मणिपाल शिक्षण अस्पतालमा १५ बेड, गिरिजा प्रसाद (जि.पि.) कोइराला स्वासप्रश्वास रोग उपचार केन्द्र तनहुँको दुलेगौडामा २० बेड तयार पारिएको छ ।

कोरोना भाइरस सम्बन्धी शंका लागेका बिरामीहरुको उपचार गर्नको लागि आइसोलेसन सेन्टरको रुपमा बेडको पूर्व व्यवस्थापन गरिएको निर्देशक डा. शर्माले बताए ।

आइएनएफले आवश्यक परेको खण्डमा तत्काल ५० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने जनाएको  निर्देशक डा.शर्माले पोखरा न्यूजलाई  बताए ।

गण्डकी प्रदेश कोरोना भाइरसको  जोखिममा रहेको भन्दै  प्रदेशमा कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि हालै गठित प्रदेश स्तरिय उच्च स्तरीय निर्देशक समितिको बैठक मंगलबार बसेको छ ।

बैठकबाट प्रदेशका मुख्यमन्त्री एवं उच्चस्तरीय समितिका संयोजक पृथ्बी सुब्बा गुरुङले पोखराका  हस्पिटलमा ५ बेड सहित ५ जना कर्मचारी तयारी अस्बथामा राख्न निर्देशन दिएका हुन् ।

संस्थाले  विपद्का बेला  निर्वाह गर्नुपर्ने भूमिकाका  आधारमा सम्पूर्ण हस्पिटलहरुले  आफ्नो सामाजिक उत्तरदायित्वका रुपमा कम्तिमा ५ बेड र ५ जना स्वास्थ्यकर्मीको टिम तयारी अवस्थामा राख्न  मुख्यमन्त्री गुरुङले निर्देशन दिएका हुन्।

क्वारेन्टाइन रुम समेत स्थापना गर्नुपर्ने बताउदै संयोजक गुुरुङले पिपिई खरिद प्रकृया छिटो अगाडी बढाउन स्वास्थ्य निर्देशनालयलाई आग्रह गरेका छन्। संयोजक गुरुङले तत्काल न्यूनतम आवश्यकताको आधारमा कति बजेट आवश्यक पर्ने भनी सोधपुछ गरेका थिए ।

त्यस्तै दैनिक उपभोग्य वस्तु तथा मास्क सहज रुपमा आपूर्ति गर्न निर्देशन समितिले व्यवसायीलाई निर्देशन दिएको छ ।

मुख्यमन्त्री संयोजकत्वमा बसेको बैठकमा पोखराका अधिकांश हस्पिटलका संचालक तथा चिकित्सकहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Close