
काठमाडौं , मंसिर १५ । नेपाल धितोपत्र बोर्डले शेयर बजारका लगानीकर्ताहरुलाई सुसूचित भई सजगतापूर्वक लगानी गर्न आग्रह गरेको छ । धितोपत्रको दोस्रो बजारमा नियमित रुपमा उच्च कारोबार भइरहेको र नेप्सेले एक पछि अर्को रेकर्ड कायम गर्दै जाँदा नेप्सेले लगानीकर्तालाई सचेत भएर लगानी गर्न आग्रह गरेको हो ।
“पछिल्लो केही दिनमा दोस्रो बजारमा करोबार रकम र नेप्से सूचक हालसम्मकै उच्च अंकमा रहन गएको छ, जुन समग्र पुँजी बजाजरको लागि खुसीको कुरा हो,” बोर्डल भनेको छ,“यद्यपी लगानीकर्ताहरुले पुँजी बजारको केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाको आधारभूत तथा प्रविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचकलगायत विश्लेषण गरी लगानी सम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुनेछ ।”
बोर्डले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र, तथा सूचिकृत संगठित संस्थाको वित्तीय अवस्था संस्थागत सुसासनको अवस्था तथा जोखिम बहन गर्न सक्ने क्षमता र आफ्नो लगानीको सुरक्षासमेतलाई ध्यानमा राख्न बोर्डले लगानीकर्तालाई आग्रह गरेको छ ।
बोर्डबाट गरिएका धितोपत्र बजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिव ७.२५ प्रतिशत) रहेको तथा नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको बोर्डको दाबी छ ।
बोर्ड दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तर रुपमा अनुगमन गरिरहेको जनाएको छ । यसका साथै सुक्ष्म रुपमा अनुगमन तथा सुपेरिवेक्षण गरिरहेको बोर्डले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।