समाचारसमाज

कञ्‍चनपुरमा ३ सयभन्दा बढी घर डुबानमा, ६० घर विस्थापित

Spread the love

असार २५, कञ्‍चनपुर — दुई दिनयताको वर्षाले  कञ्‍चनपुर जिल्लाका विभिन्न ठाउँ जलमग्न भई डुबानमा परेका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारसँगै आसपासका क्षेत्रमा डुबानको समस्या देखिएको हो । भीमदत्त नगरपालिका–१८ को सालघारी र बागबाणी क्षेत्रमा मात्रै तीन सयभन्दा बढी घरटहरा डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सबै घरभित्र पानी भरिएको छ । डुबानका कारण ६० परिवार विस्थापित भएको डीएसपी अमरबहादुर थापाले बताए । ‘सालघारी क्षेत्रका अधिकांश घर डुबानमा छन्,’ भीमदत्त नगरपालिका–१८ का अध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘विस्थापित परिवारमध्ये केहीलाई भगतपुरको योगशाला भवनमा सार्‍यौं, केहीलाई आफन्तकहाँ पठायौं ।’ सालघारी क्षेत्रमा सुकुम्बासी र मुक्त कमैयाहरूको बसोबास छ ।

महेन्द्रनगर बजार क्षेत्र पनि जलमग्न बनेको छ । खोलानाला मिचेर घर निर्माण भएपछि निकास बन्द भएका कारण सामान्य वर्षामा समेत बजार क्षेत्र डुबानमा पर्ने गरेको थियो । भुजेलाघाट र झोलुंगे पुल नजिकैका घर पनि डुबानमा परेका छन् ।

Related Articles

Back to top button