समाचार

कोरोना समुदायमा गइसक्यो, लकडाउनमा कठोर बन्छौं : डीआईजी पोखरेल

Spread the love

जेठ १ काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले कोरोना महामारीको खतरा रोक्न लकडाउन कार्यान्वयनमा कठोर रूपमा प्रस्तुत हुने बताएका छन् ।   पोखरेलले कोरोना भाइरस समुदायस्तरमा फैलिसकेको बताउँदै लकडाउन कार्यान्वयनमा प्रहरी कठोर रूपमा प्रस्तुत हुने बताएका हुन् ।

काठमाडौं उपत्यकामा सरकारले तोकेका र अनुमति प्राप्त व्याक्तिबाहेकलाई अनावश्यक रूपमा हिँडेको देखिए नियन्त्रणमा लिइने पोखरेलले बताए । प्रहरी एक्लैले मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न नसकिने बताउँदै हरेक क्षेत्रको सहयोगी भूमिका हुन आवश्यक रहेको उनले बताए ।

उपत्यका भित्रिने नाकामा कडाइ गरिने र काठमाडौंभित्रको लकडाउन थप व्यवस्थित बनाइने उनले बताए । पोखरेलले भने, “व्यवस्थित गर्ने भनेको अनुमति प्राप्त व्यक्ति र सवारीलाई पूर्ण रूपमा ठप्प पार्ने हो । अत्यावश्यक काममा भने सहजता गर्छौं । बाहिरबाट आएकाहरूको सम्पूर्ण विवरण राख्छौं । जसबाट उनीहरुको ट्राभल हिस्ट्री र कन्ट्याक्ट ट्रेसिङ गर्न सहयोग होस् ।”

बाहिरबाट आउने व्याक्तिका कारण काठमाडौं जोखिममा परेको सरोकारवालाले बताउँदै आएका छन् । पोखरेलका अनुसार उपत्यकामा सवारी जाँचलाई थप प्रभावकारी बनाइएको छ । उपत्यकामा नौ हजार बढी प्रहरी परिचालन गरिएको उनले बताए । पोखरेलका अनुसार यसअघि प्रशासनबाट जारी भएका पासहरूलाई विस्तारै विस्थापित गर्दै जाने र नयाँ सीमित पास वितरण गर्ने विषयबारे छलफल भइसरहेको छ । सञ्चारकर्मीलाई पनि सूचना विभागको पास अनिवार्य गरिएको उनले बताए ।

Related Articles

Back to top button