अन्य

काठमाडौंको ट्राफिक जामः बाटो ठूलो हुँदैमा हट्दैन

Spread the love

काठमाडौंको सबैभन्दा ठूलो समस्या भनेको ट्राफिक जाम नै हो । म ट्राफिक प्रहरी प्रमुख भएर गएको बेला भन्दा अहिले सडक विस्तार भएको छ । यद्यपि, ट्राफिक जाम किन रह्यो ? बाटो ठूलो भएपछि त सररर… गाडी कुद्नु पर्ने थियो नि ! यसबाट बाटो ठूलो हुँदैमा ट्राफिक जाम व्यवस्थापना हुन्छ भन्ने होइन रहेछ भन्ने प्रमाणित भयो ।

 

आफैंले जरिवाना तिरेको क्षण

एक दिनको एउटा रोचक प्रसङ्ग छ । सायद म डीएसपी या एसपी थिएँ । एकदमै हतार थियो ।

पुलतीसडकबाट मारुती गाडी हाँकेर माइतीघरतिर जाँदै थिएँ । पहेँलो बत्ती भएपछि म छिरेंजस्तो लागेको थियो । तर, म रातो हुँदा फ्याट्ट हिँडेछु ।

यो सिंहदरबारको लाइटको कुरा हो । म सिभिल ड्रेसमा थिएँ । ट्राफिकले मलाई साइड लाउनुस् भन्यो ।

मलाई त केही थाहा थिएन । ट्राफिक जवानले भने, ‘तपाईंले ट्राफिक लाइट क्रस गरेर आउनुभयो ।’

त्यस्तो अहिलेका ट्राफिकले भनिदिए हुन्थ्यो जस्तो लाग्छ । ती ट्राफिकले मलाई चिनेका थिएनन् ।

लु… बग्गीखाना हिँड्नुस् भनेर ती ट्राफिक प्रहरी जवानले भने । अनि एउटा महिला प्रहरी आइन् । र, सरलाई त्यहाँ पुर्‍याऊ भनेर ती ट्राफिकले भने ।

त्यसपछि म ती महिलासहित त्यता गएँ । अघि जुन ठाउँमा ट्राफिक लाइट थियो, त्यहीँ पुगेपछि फेरि रोकिएँ । र, हाँस्दै भनें, ‘अघि यही लाइटका कारण जरिवनामा परेँ जस्तो छ ।’

अनि ती महिला ट्राफिक प्रहरीले ‘तपाईंलाई कहाँ देखेको जस्तो लाग्यो’ भनिन् । ‘हो र !’, भन्दै म ट्राफिक कार्यालयभित्र छिरेँ । त्यहाँ गएपछि सबैले मलाई चिने ।

ती महिला नर्भस भइन् । अनि, मैले भनें, ‘नानी तिमी नर्भस नहोऊ । मैले गल्ती गरेको छु भने कारबाही हुनुपर्छ ।’ त्यतिबेला मैले जरिवाना तिरेँ । २०, ३०, ४० वा ५० रुपैयाँ यस्तै कति तिरेको थिएँ । ठ्याक्कै सम्झना भएन ।

पैसा तिरेपछि मैले ती महिलालाई पहिलेकै ठाउँमा पुर्‍याइदिएँ । र, हिँडे । त्यतिवेला लाइट सिष्टम यति कडा थियो भन्ने उदाहरण हो ।

यसले के बताउँछ भने त्यतिवेला धेरै मानिस थिएनन् । योबीचमा सडक विस्तार पनि भयो, गाडी र मोटरसाइकलहरु पनि बढे । तर, काठमाडौं शहर व्यवस्थित नै गर्न नसकिने सडक चाहिँ होइन । काठमाडौंमा ट्राफिक व्यवस्थापन नै गर्न सकिँदैन भन्ने कुरामा चाहिँ म विश्वास गर्दिनँ ।

सवारी साधनको सर्भेबाट सुरुवात

तत्कालीन अवस्थामा ट्राफिक प्रमुख हुँदा मैले त्यो बच्चादेखिको अनुभव लगायत सबै कुराहरुले पनि मलाई काम गर्न सहज भयो । मलाई अपनत्व पनि भयो । यो ठाउँलाई राम्रो बनाउनुपर्छ, राजधानी हो । मेरो ठाउँ हो भन्ने लाग्यो । म जन्मिएको ठाउँ । मेरो काठमाडौं । हाम्रो काठमाडौं । त्यसले पनि घच्घच्यायो ।

ट्राफिक व्यवस्थापनका लागि पहिलोपटक काठमाडौंमा सडक भत्काउन सुरु मैले नै गरेको थिएँ । पहिलो सडक नन्दीरात्रीमा भत्काएको मैले नै हो । गोपाल सरलाई बोलाएर सबैसँग कुरा गरेर बाटो फोडियो । र, दुई लेनको बनाइयो ।

म काठमाडौंको रैथाने भएकाले पनि मलाई काम गर्न सहज भयो । यहाँको समस्या त मैले बच्चामै छर्लङ्ग देखेको थिएँ । मेरो घर त्रिपुरेश्वर हो ।

फाइल तस्वीर

 

पत्याउनु हुन्छ कि हुँदैन, बाल्यकालमा दिउँसो ११ बजेपछि त्रिपुरेश्वरमा हामी घर अगाडि गुच्चा खेल्थ्यौं, सडकमै । त्यतिवेला मोटरसाइकलको आवाज सुन्दैमा कसको मोटरसाइकल हो भनिदिन्थ्यौं । त्यसको मतलव सवारी साधन सीमित थिए । यो करिब ०३९/०४० सालतिरको कुरा हो । ट्राफिक बत्तीहरु ठाउँठाउँमा थिए । अहिले पनि ती पुराना बत्तीहरु कतिपय स्थानमा छन् ।

कुनै दिन ट्राफिकको प्रमुख हुन्छु होला भनेर सोचेको पनि थिइनँ । त्यहाँ पुग्ने वित्तिकै मैले एउटा रिसर्च गराएँ ।

बिहान र बेलुका मुख्यमुख्य चोकहरु चाबहिल, महाराजगञ्ज, गंगबु, बालाजु, कलंकी, तीनकुने, कोटेश्वर, थानकोट, गौशाला लगायतबाट कति गाडी कुद्दो रहेछ भनेर सर्भे गराएँ ।

कतिवटा मोटरसाइकल, कतिवटा गाडी पास भए भन्ने कुराको तथ्याङ्क निकालियो । त्यो कामका लागि मैले ५/७ जनालाई नै लगाएको थिएँ । कतिसम्म सकिन्छ, गन्ती गरेर कापीमा धर्को तान्ने । यसरी सर्भे गर्नुको विकल्प पनि थिएन । किनभने हामीसँग अरु मेकानिज्म नै थिएन ।

त्यसपछि मैले ट्राफिकको फेसबुकमा काठमाडौंमा कति सवारी भित्रिन्छन् ? कति बाहिरिन्छन् ? भन्ने दैनिक विवरण राख्न थालेँ ।

कुन समयमा सवारीको बढी आवत जावत हुन्छ भन्ने पनि निकालेँ । अनि, एरिया फोकस गरेर काम गर्न थालेँ । कम्ति सवारी आवत जावत हुने ठाउँमा कम प्राथमिकता र बढी भएको ठाउँमा बढी प्राथमिकता दिएँ ।

पैसा नखाने प्रण

अनि, अर्को कुरा, शुन्य सहनशीलतामा विश्वास गरेँ । मिडियासँग बोल्दा अतिरञ्जित पनि होला । तर, मैले पैसा नखाने प्रण गरेँ । किनभने संस्थागत भ्रष्टाचारले गाँजिएको ठाउँ हो काठमाडौं । तलदेखि माथिसम्म पुर्‍याउनुपर्ने, त्यो चिजलाई रोकें भने मलाई काम गर्न सजिलो हुन्छ भन्ने लाग्यो ।

किनभने मैले काम अह्राउँदा आँखामा जुधाएर सिपाहीलाई काम अह्राउन सक्नु पर्‍यो नि । त्योसँग मैले पैसा खाएको छु भने त मलाई हिम्मत हुँदैन । प्रमुखले नखाँदा ५० प्रतिशत भ्रष्टाचार घट्छ भन्ने मेरो सोचाइ हो । जवानहरु पनि डराउँछन् नि त । परेँ भने मर्छु भन्ने त हुन्छ ।

ट्राफिक संस्थागत रुपमा प्रहरीको भ्रष्टचारको अखडा जस्तो थियो । जुन अहिले क्रमशः सुधार हुँदै आएको छ । अब ती केटाहरुलाई बाहिर निस्की भन्न मलाई नैतिक साहस बढ्यो । मेरो नैतिक साहसले काम गरेको हो । मैले केही पनि गरेको होइन ।

त्यो सर्भेको तथ्याङ्कलाई हेरेर मुख्य मुख्य ठाउँमा बढी सवारी चाप हुने समयमा को को खटिएका छन् ? त्यो हेरेँ । सबैतिर सीसी क्यामेरा नभएकाले क्यामेराबाट निगरानी गर्न पनि सम्भवन थिएन । र, म आफैं सडकमा निस्किएँ । बिहानदेखि बेलुकासम्म सडकमै निस्किन्थे । कतिवेला बाहिर निस्किएँ भन्ने पनि थाहा हुँदैनथ्यो ।

राजधानीको सडक विस्तार

एक दिन शनिबारको दिन थियो । शहिद गेटबाट सुन्धारा जाने बाटोको बीचमा माइक्रो बसको स्ट्याण्ड थियो ।

महानगरीय प्रहरी प्रभाग, दरबारमार्गका इन्स्पेक्टर सीताराम हाथेछुलाई भनेर मैले सबै बन्दोबस्त गरिसकेको थिएँ । क्रेनहरु सबै तयार गरिएको थियो ।

बिहान त्यो बसपार्क भत्काइदिएँ । मैले कसैलाई पनि भनेको थिइनँ । मेरा स्टाफहरु एसपी, डीएसपी सबै कहाँ, कहाँ थिएँ । तर, मैले त्यो भत्काइदिएँ ।

मलाई लागेको थियो, काठमाडौंको जामलाई अड्काउने ठाउँ भनेको टुँडिखेलको वरपर हो । त्यसलाई कमसकेम सहज गरिदिन सकियो भने जाम कम हुन्छ भन्ने मलाई विश्वास लाग्यो, त्यो रिसर्चका आधारमा ।

त्यो भत्काउना साथ त्यो सडक फराकिलो भयो । सँगसँगै सिधा त्यहाँबाट सुन्धारा जाने बाटो खोल्दिएँ । पहिले नगरपालिकासम्म आएर घुमाउनुपर्थ्यो ।

अहिले हेर्नुस् त एकैछिनमा पास भइहाल्छ । त्यो खोल्दा २५ प्रतिशत समस्या समाधान भयो । यस्तै यस्तै चिज चाहिँ फाल्दै जानुपर्ने रहेछ भन्ने सोचेँ ।

दरबार मार्ग अगाडि तीनकुने थियो । एउटा गाडी त्यहाँ विस्तारै जान्थ्यो । त्यसलाई पनि भत्काएर दुई वटा गाडी जाने पारियो । त्यति हुना साथ त्यहाँको सवारी चाप पनि कम भयो ।

अनि, ट्राफिक जवानहरुलाई सडकमा निस्किन लगाउने र सेटमा कराइरहने गर्न थालेँ । अफिसरहरुलाई ड्यूटीमा लगाउने र अत्यधीक जवानहरुलाई बाहिर निकाल्न थालेँ ।

जबसम्म कमाण्डर सेटमा एक्टिभ हुँदैन, तबसम्म राम्रो हुँदैन, कराउनैपर्छ, अपरेशन कमाण्डरै हो डीआइजी भनेको, कुर्सीमा बस्ने कामै होइन, फिल्डमै देखिनुपर्छ

सडकपेटीमा मोटरसाइकल चढाउनेलाई कारबाही

स्ट्याण्डमा बाहेक अन्यत्र गाडी रोक्न नदिने निर्णय गरियो ।

सवारी जाम गराउने र भिड गराउनेमा मुख्य भनेको मोटरसाइकल थियो । र, त्यतिबेला जाम हुँदा मोटरसाइकल पेटीबाट चढाएर लाने गरिन्थ्यो ।

त्यसो गर्नेलाई एक हजार रुपैयाँ जरिवाना गर्न थालियो । त्यहाँ ठूलो प्रतिवाद आयो । तर, निरन्तर अघि बढें । त्यो काम मेरा निम्ति थिएन, राज्यका लागि गरिएको थियो । थापाथलीबाट सुरु गरिएको यो अभियान एकदमै प्रभावकारी भयो । मान्छे अनुशासनमा बस्न थाले । र, सडक पेटीबाट हिँड्ने यात्रु सुरक्षित भए ।

मोटरसाइकल पेटीमा चढ्दा यात्रु सडकमा निस्किन्थे । मोटरसाइकल सडकमा चढ्ने क्रम बन्द हुनेवित्तिकै यात्रुहरु सडक पेटीबाट मात्रै हिँड्न थाले । व्यवस्थित हुँदै गयो । यस्ता सानासाना कुराले ट्राफिक व्यवस्थापनमा सघाउ पुर्‍यायो ।

त्यसपछि त्रिपुरेश्वरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुरा मनमा आयो । कालिमाटीबाट आएको बायाँको लेनलाई अलि स्मुथ गरेपछि त्यहाँ सडक खुल्दो रहेछ । त्यसका लागि लेन व्यवस्थापन गरियो ।

वास्तवमा लेन अनुशासन मेरो कार्यकालपछि सुरु भएको हो । मैले कारबाही पनि सुरु गरेँ । त्यसपछि काहीँ पनि बायाँ छेक्किएन । त्यति हुने वित्तिकै बाँया जाने सवारी सररर… जाने भए ।

मैले फेरि माइतीघरदेखि सूर्यविनायकसम्म मोटरसाइकलको एउटै लेन राख्छु भन्ने सोचेको थिएँ । सर्भिस लेनलाई व्यवस्थित गर्न खोजेको थिएँ ।

सार्वजनिक सवारी साधनहरुलाई मेनमा आउन नदिने, सर्भिस ट्याकमा मात्र आउने दिने, आउनैपर्ने ठाउँमा आउने मात्रै आउन दिने प्रयास सुरु गरेपछि पनि धेरै सुधार भयो ।

ट्राफिक उलङ्घन गर्ने भनेको सबैभन्दा बढी मोटरसाइकल र सार्वजनिक यातायातले गर्ने गरेको छ । मोटरसाइकललाई पनि सर्भिस लेनमा लान धेरै प्रयास गरियो ।

पुलमा पुगेपछि मोटरसाइकल त सोलो डोलो हुने भयो । अरिंगाल जस्तो भयो । अनि, सडक विभागलाई तुरुन्त पुल बनाइदिन भनेर अनुरोध गरेँ ।

त्यो सँगसँगै बागमती र धोबीखोला करिडोरलाई छेड्ने काममा पनि मैले प्राथमिकता दिएँ ।

कुर्सीमा बस्ने पद होइन, अपरेशन कमाण्डर !

बदमास गर्ने ट्राफिकलाई कारबाही पनि सुरु गरियो । आफू इञ्चार्ज नै बाहिर निस्किएपछि चाहिँ थर्कमान हुँदो रहेछ ।

जबसम्म कमाण्डर सेटमा एक्टिभ हुँदैन, तबसम्म राम्रो हुँदैन । कराउनैपर्छ, अपरेशन कमाण्डरै हो डीआइजी भनेको । कुर्सीमा बस्ने कामै होइन । फिल्डमै देखिनुपर्छ । अहिले त कन्ट्रोल रुपमा सीसी टीभी पनि छ । त्यहाँ बसेर किन भएन ? भनेर गाली पनि गर्नु पर्छ ।

हाम्रो म्यानपावर कस्तो छ भने जबसम्म आफ्नो कमाण्डरले भन्दैनन् तबसम्म गर्दैनन् । ठग्न पाए ठग्छन् । मोबायल खेलाएर बसिदिन्छन् ।

सिभिलमा पनि केटाहरु राखेँ मैले । मोबाइल खेलाउने, गलत व्यवहार गर्ने लगायतलाई कारबाही गरेँ । चेतनामूलक कार्यक्रम सुरु गरेँ । सेलिब्रेटीहरुलाई बोलाएँ । त्यो चाहिँ फिल्डमा खट्ने अफिसरहरुलाई राखेर गरेको थिएँ ।

दीपकराज गिरी र दीपाश्रीलाई बोलाएँ । पुलिसले कसरी काम गर्नुपर्छ भनेर बहस चलाएँ । वकिल, व्यवसायी, रिक्सा चालक र ट्याक्सीवालालाई बोलाएँ । शिक्षा क्षेत्रका मानिसहरुलाई बोलाएँ ।

ट्राफिकले कसरी काम गर्नु पर्छ भन्ने बहस चलाएँ । ट्राफिकले पनि एकोहोरो रुपमा आफैंदेखि गरिरहेको कुरामा अरुले ऐनाको रुपमा तिमीहरुले योयो काम गरिरहेका छौं, त्यो एकदमै राम्रो छ ।

तर, योयो कुरा पनि सुधार्नु पर्छ है भन्न थाले । मैले कमाण्डरले रोलकल ल्याएर भन्नु भर्दा उनीहरुकै मुखबाट सुन्दा त्यसको प्रभावकारिता नै वेग्लै भयो ।

ट्राफिकहरुले पनि तपाईंहरु पनि त यस्तो हुनु पर्छ नि भन्न थाले । यसरी दुई पक्षबीच दोहोरो संवाद पनि भयो ।

म जम्मा ६ महिना बसेँ त्यहाँ । त्यति अवधिमा मैले यस्ता कामहरु गरेँ । र, ट्राफिक व्यवस्थापन सम्भव भयो ।

मैले देखेको मुख्य कुरा भनेको कमाण्ड र भ्रष्टाचारको नियन्त्रण नै हो ।

Related Articles

Back to top button