समाचार

लमजुङमा दोर्दी खोलाले बगाउँदा ४ को मृत्यु, ७ बेपत्ता

Spread the love

श्रावण ९,लमजुङ ।
दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा ४ जनाको मृत्यु भएको छ । मृत्यु भएका चारैजना दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदार रहेको प्रहरीले बताएको छ । उनीहरुको सनाखत हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईका अनुसार ४ जनाको शव फेला परेको र ७ जना बेपत्ता छन्। २ जनाको शव नौथर शेरा र २ जनाको शव कीतिपुर बेंसीमा फेला परेको हो। चारैजना पुरुष हुन्।बेपत्तामध्ये साँझ ८ बजेसम्म कोही पनि सम्पर्कमा नआएको उनले बताए। बाढीले बगाउँदा ९ जना घाइते भएका छन्। ५ जना माथिल्लो दोर्दी ‘ए’ का कामदार रहेका छन्। ४ जना माथिल्लो क्षेत्रमा निर्माणाधीन ५४ मेगावाटको सुपरदोर्दी ‘ख’ जलविद्युत आयोजनाका कामदार हुन्। उनीहरुलाई उपचारका लागि बेंसीसहर पठाइएको छ।

माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक टिबर्टी इनर्जी कम्पनीका सञ्चालक राजेन्द्र वस्तीले बाढीले धनजनको क्षति र्पुयाएको बताए। उनका अनुसार ४ जना कामदार बगाएको र ७ जना बेपत्ता भएको बताए। ‘बाढी एक्कासी आयो। हामीले केही केही गर्नै सकेनौं। यो नसोंचेको घटना भयो’ उनले भने। माथिल्लो क्षेत्र ढोडेनीको जंगलमा पहिरो गएर बाढी आएको उनले बताए। ‘माथिल्लो क्षेत्रमा पहिरो आएर खोला थुनिएको र एक्कासी आएको हुनसक्छ’ उनले भने।

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले नौथर शेरामा ल्याएको २ वटा शवलाई स्थानीयले खोलाबाट निकालेको बताए। उनका अनुसार उद्धारकार्यमा सुरक्षाकर्मीसँगै जनप्रतिनिधि र स्थानीय खटेका छन्। डीएसपी रबिन्द्रमान गुरुङका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ। प्रजिअ भट्टराईसहितको सुरक्षा निकायका प्रमुख सवै उक्त ठाउँमा खटिएको उनले बताए।

दोर्दीखोलामा आएको बाढीले जलविद्युत आयोजनाको निर्माणाधीन ड्याम क्षेत्रमा क्षति र्पुयाएको छ। स्थानीय समेत बिस्थापित भएका छन्। सुरक्षार्थ बसेको नेपाली सेनालाई पनि विस्थापित बनाएको छ।

Related Articles

Close