समाचार

बन्दले जनजिवन प्रभावित

Spread the love

पोखरा, ३० बैशाख
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार नेपाल बन्द आह्वान गरेको छ। केपी ओली सरकारले राष्ट्रघाती निर्णय गरेको भन्दै नेकपाले आइतबार नेपाल बन्दको घोषणा गरेको हो। बन्दको क्रममा कतै बमको त्रास त कतै सवारी साधन नचल्दा गन्तव्यमा पुग्ने सर्वसाधारण समस्यामा परेका छन्। । प्रदेश ४ को राजधानी पोखरामा बन्दको असर परेको छ। पोखरामा बन्दका कारण सार्वजनिक यातायात पूर्ण बन्द भएको रहेका छन् । आइतबार बिहान पोखराको विमानस्थलमा शंकास्पद वस्तु भेटिएको थियो। शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ ।आइतबार गृहमन्त्री रामबहादुर थापा काठमाडौंबाट पोखरा विमानस्थल आइपुगिसकेपछि उक्त वस्तु देखिएको विमानस्थलका अधिकारीले जनाएका छन्। । गृहमन्त्री थापा प्रदेशस्तरीय सुरक्षा बैठकमा भाग लिन पोखरा आएका हुन् । तनहुको दमौलीमा बन्दको प्रभाव परेको बताइएको छ । आइतबार बिहान दमौली मादी पुलमा शंकास्पद वस्तु भेटिएको थियो।भेटिएको शंकास्पद वस्तु पनि सेनाको बम डिष्पोजल टोलीले निष्कृय पारेको छ।

यसैक्रममा नेकपाले गरेको नेपाल बन्दको प्रभाव दाङमा पनि परेको छ।बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित भएको दाङका संवाददाता गोपाल शर्माले जानकारी दिए । बन्दका कारण दाङबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन्। दाङमा शिक्षण संस्था, उद्योग कलकारखाना, व्यापार, व्यवसाय सञ्चालनमा आएका छैनन्। जिल्लाका मुख्य बजार तुलसीपुर, घोराही, लमही, गढवा,भालुबाङ बजार बिहानैदेखि बन्द छन्। सडकमा बन्दकर्ताहरु नदेखिए पनि बन्दको प्रभाव सबै क्षेत्रमा देखिएको छ । लमही गढवा सडक खण्डको राप्ती नदी पुलमा बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि चालक बस चलाउन डराएका छन् ।
यसैक्रममा नेकपाले आह्वान गरेको बन्दले प्रदेश ५ को पाल्पाको जनजीवन पनि बिहानैदेखि प्रभावित भएको छ। बन्दका कारण जिल्लाबाट छुट्ने लामो तथा छोटो सवारी साधन छुटेका छैनन्। शैक्षिक संस्था, बजार पसल सबै ठप्प छन्।
पाल्पाको रामपुरमा बिहानै बम विस्फोट भएको छ। सदरमुकाम तानसेन नगरपालिका–५ कैलाश नगरस्थित श्रीनगरडाँडाको तल्लो भाग र बस्ती भन्दामाथि करीब ५ बजे बम विस्फोट हुँदा आएको ठूलो आवाजाबट स्थानीयवासी त्रसित भएका थिए ।
धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनरमा अज्ञात समूहले आगजनी गरेको बताइएको छ । सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१ आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटका दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

आइतबार बिहान करिब ३ बजे नै कन्टेनरमा आगो लागेको थियो । आगो नफैलियोस भनेर चारवटा कन्टेनरले वरिपरि माटो थुपारेका थिए । आगलागी भएको दुई घण्टापछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको थियो। आगलागीबाट मानवीय क्षति भएको छैन। बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए। आगलागीपछि विद्युतको तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ। आगो नेकपाले लगाएको आशंका गरिएको छ। चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केटको बीचमा आइतबार बिहान ३ः४५ बजे विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।

उनका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ। अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। विप्लव नेतृत्वको बन्दको हल्लाले आइतबार चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेका छन्। काठमाडौंमा भने बन्दको असर परेको छैन। जाजरकोटमा पनि बन्दको प्रभाव परेको छ। समाचारदाता राजेन्द्र कार्कीका अनुसार जिल्लामा नेकपाले गरेको बन्दका कारण यातायात र पठनपाठन प्रभावित भएको छ। लामो तथा छोटो दूरीका गाडी नचलेपछि यात्रुहरु अलपत्र परेका छन् ।आइतबार जिल्लाका सरकारी तथा निजी शिक्षण संस्था खुल्न सकेनन्।अन्यौलका बीच विद्यालय पुगेका विद्यार्थीलाई समेत शिक्षकले बन्द भन्दै फिर्ता गरिदिएका थिए।नेकपाको बन्दले साढे चार सय विद्यालयका ६० हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।

Related Articles

Close