खेलकुुदसमाचार

शहिद स्मारक ए डिभिजन लिग फुटबल : मच्छिन्द्रको ऐतिहासिक जित

Spread the love

फागुन ३, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको उपाधी मच्छिन्द्र फुटबल क्लबले उचालेको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले लिगमा ऐतिहासिक उपाधि जितेको हो। विस २०६० सालमा पहिलो पटक ‘ए’ डिभिजन लिगमा उक्लिएको मच्छिन्द्रले १६ वर्षपछि लिगको उपाधि जितेको हो।

फाइनल सरह रहेको अन्तिम खेलमा मच्छिन्द्रको जितमा आर्मीको आत्मघाती गोल निर्णायक बन्यो। निकै रोमान्चक बनेको खेलको ३३औँ मिनेटमा आर्मीका विकास तामाङले आत्मघाती गोल गरेका हुन्। रञ्‍जित धिमालको फ्रिकिक हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेका थिए। त्यहीँ विकासको आत्मघाती गोलले आर्मी भने पहिलो पटक लिगको उपाधि जित्नबाट बन्चित बन्यो। खेलमा मच्छिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच चुनिए। जितसँगै मच्छिन्द्रले १३ खेलमा ३१ अंक जोड्दै उपाधि जितेको हो। गत सिजन खराब प्रदर्शनको कारण १ अंक सुरुवातबाटै घटेको मच्छिन्द्रले १३ खेलमा १० जित, २ बराबरी र १ हारको नतिजा निकाल्यो। उपाधि जित्ने क्रममा मच्छिन्द्रले आर्मीलाई २ अंकले पछि पार्‍यो। अन्तिम खेलमा चुकेको आर्मीले २९ अंक जोड्यो।

आर्मीले ९ जित, २ बराबरी र २ हारको सामना गर्‍यो। यस्तै, लिगमा २८ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब तेस्रो, २६ अंक जोडेको थ्री स्टार चौंथो र २० अंक जोडेको नेपाल पुलिस क्लब पाँचौं स्थानमा रह्यो ।

Related Articles

Close