समाचारसमाज

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

Spread the love

भदौ २,  काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। उनको मंगलबार काठमाडौंको लैनचौरस्थित निवासमै निधन भएको हो।

राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उनका छोरा राजीव घिमिरेले बताएका छन्।  वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गरेका थिए।  छोरा राजीव घिमिरेका अनुसार उनको १०१ वर्षमा निधन भएको हो।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार थिए। उनले बाल्यकालदेखि नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका थिए।

उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए। उनका नवमञ्जरी (वि.सं. १९९४), घामपानी (वि.सं. २०१०), नयाँ नेपाल (वि.सं. २०१३), किन्‍नर-किन्‍नरी (वि.सं. २०३३) जस्ता कविता सङ्ग्रह सङ्कलित छन्। उनलाई ‘राष्ट कवि’ को उपाधिले सम्मान गरिएको थियो। १४ वर्षको उमेरमा ज्ञान पुष्प शीर्षकमा वि.सं.१९९२ मा गोरखापत्रमा पहिलो रचना छपाएर काव्य सिर्जना थालेका थिए।

घिमिरे वि.सं. २००५ सालमा गोरखापत्रमै सह-सम्पादकको जागिरे भएका थिए। बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि वि.सं. १९९८ सालमा भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा काम थालेका थिए। वि.सं. २००१ सालमा गोरखापत्र दैनिकमा मासिक ४० रुपैयाँ तलबमा सहायक सम्पादकमा काम गरे।

त्यसपछि २०१० सालमा लक्ष्मीप्रसाद देवकोटाको अध्यक्षतामा गठन भएको काव्य प्रतिष्ठानमा चार वर्षसम्म सदस्य थिए। उनी वि.सं. २००८ सालमा लमजुङ फर्किएर माध्यमिक विद्यालयको प्रधानाध्यापक भएर शिक्षा क्षेत्रमा जोडिएका थिए। चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरे का अन्य चर्चित गीतहरूमा ‘फूलको थुङ्गा बगेर गयो’ (तारादेवी) तथा ‘आजै र राति के देखेँ सपना’ (नारायण गोपाल)ले गाएका छन्।  उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहे।

Related Articles

Back to top button