समाचार

आज माघे सक्रान्ती

Spread the love

१माघ ।
आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आ आफ्नै विशेषता र सांस्कृतीक महत्वका साथै मनाईने गरिन्छ ।

सनातन सस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको पकवानकालागि प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ । सूर्य र पृथ्वीको दिशालाई पनि लगभग ध्रुवको अवस्थितीका आधारमा गणना र मापन गरिन्छ, आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ ।

माघे संक्रान्तिको दिनमा विहान सबेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगाई, व्राह्मणलाई दान दक्षिणा दिइनुको साथै कतिपय घरमा त आजको दिन रुद्री या सत्यनारायण भगवानको पूजा लगाउने कार्य समेत गरिन्छ । तील र चाकु मिसाएको परिकार तथा तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो प्राप्ति हुने गर्दछ । यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण संस्कार नेपाली जनजीवनमा रहेको छ भन्ने पुष्टि हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीबाट समेत राहत मिल्दछ ।
आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड लाग्ने गर्दछ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाण्डौ शङ्खमूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ । यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यानलाई बालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ ।

Related Articles

Close