अन्य

वाम गठबन्धनले चुनाव जिते सर्वसत्तावाद लाद्छन्ः रिजाल, कांग्रेस उम्मेदवारका एजेन्डाः विपन्नलाई रोजगारीदेखि विमानस्थलको स्तरोन्नति सम्म

Spread the love

२० कात्तिक, विराटनगर । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले वाम गठबन्धनले चुनाव जिते मुलुकमा सर्वसत्तावाद हावी हुने बताएका छन् । उनले कुरा मिठा गर्ने तर व्यबहार तीतो गर्ने कम्युनिष्टहरुको चरित्र भएको भन्दै सचेत बनेर कांग्रेसलाई जिताउन मतदातालाई अपिल गरे ।

‘पहिले गुलिया र मिठा कुरा गर्ने अनि स्वार्थ पूरा भइसकेपछि गलत राजनीतिक सिद्धान्त बोकेर सर्वसत्तावाद लाद्नू कम्युनिष्टहरुको इतिहास नै बनिसकेको छ’, उनले कम्युनिस्टहरु बेइमान हुने जिकिर गर्दै अगाडि थपे, ‘नेपालमा पनि सर्वसत्तावादको खतरा छ ।’ मतदाताहरु बेलैमा सचेत बने एमाले–माओवादीको त्यस्तो धृष्टता रोक्न सकिने भन्दै उनले विवेक प्रयोग गर्न मतदातालाई आग्रह गरे ।

प्रेस युनियन मोरङले सोमबार बिहान विराटनगरमा आयोजना गरेको उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा बोल्दै मोरङ–२ का उम्मेदवारसमेत रहेका नेता रिजालले मुलुकलाई उल्टो दिशामा हिँड्नबाट रोक्न एमाले–माओवादीमाथि खनिन आवश्यक रहेको बताए । ‘देशलाई अग्रगमनतर्फ लैजाने हो भने गठबन्धनलाई रोक्न जरुरी छ’, गठबन्धनविरुद्ध खनिन कार्यकर्तालाई अपिल गर्दै रिजालले भने ।

मोरङ क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार महेश आर्चायले विराटनगरलाई एक नम्बर प्रदेशको राजधानी बनाउन सबै उम्मेदवारहरु सहमत भएको बताए । उनले विराटनगरलाई राजधानी बनाउन तीव्र भौतिक पूर्वाधार हुनुपर्ने भन्दै त्यसका लागि पहल थाल्ने प्रतिवद्धता जनाए । आर्चायले विराटनगरलाई मेडिकल सिटी बनाउनदेखि विमानस्थलको स्तरोन्नति गर्नेसम्मको साझा एजेन्डा पार्टीका उम्मेदवारहरुको भएको बताए । उनले जोगवनी–किमाथांका सडक सञ्चालनमा ल्याउनसमेत उत्तिकै उत्सुक रहेको जानकारी दिए ।

मोरंग ३ नम्बर क्षेत्रका उम्मेदरवार सुनिल शर्माले आफू विजयी भएमा सबै मतदाताहरुको एक लाखको स्वास्थ्य बीमा गर्ने, तीन वर्षभित्र चार सय विपन्नलाई रोजगारी दिने प्रतिवद्धता जनाए । १ नम्बर क्षेत्रका उम्मेदवार डिकबहादुर लिम्बुले एक नम्बर क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने र कृषिको आधुनिकीकरणका लागि जोड दिने प्रतिवद्धता व्यक्त गरे ।

Related Articles

Back to top button