समाचार

नेशनल एफ. एमको स्थापना दिवस सम्पन्न

Spread the love

ऋषिराम रानाभाट
लेखनाथ ३ फागुन ।

पोखरा २७ तालचोकमा रहेको नेशनल एफ. एम. ८८.२ मेगाहर्ज आफ्नो प्रसारणको छैटौं वर्ष पार गरी सातौं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा एफ. एम. ले आयोजना गरेको विशेष कार्यक्रमको केक काटेर उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मेयर मान बहादुर जिसीले श्रोताहरुको आवश्यकता अनुसार रेडियो कार्यक्रमहरुलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए ।

एफ. एम. ले छिमेकी जिल्लाहरुका श्रोताहरुलाई समेत लक्षित गरी कार्यक्रम र प्रशारण क्षमताको विकास गर्दै लैजान आग्रह गरे । प्रतिष्पर्धात्मक बजारमा नेपाली समाजको लोपन्मुख भाषाभाषीको जगेर्ना गर्न आग्रह गर्दै खोजमुलक समाचारमा पनि जोड दिन सुझाव दिए ।

कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका वडा नं. २७ का अध्यक्ष पुर्ण कुमार गुरुङ्ग, वडा नं. २९ का अध्यक्ष चेत बहादुर गुरुङ्ग, ईलाका प्रहरी कार्यालय डाँडाको नाकका डिएसपी अर्जुन रानाभाट, लेखनाथ साना शहरी खानेपानी संस्थाका अध्यक्ष विष्णु बराल लगायतले समय सापेक्ष र स्थानीयस्तरका विषयवस्तुहरुलाई कार्यक्रम र समाचारका विषय बनाउनुपर्नेमा जोड दिएका थिए ।

यस्तै एफ एम का बरिष्ठ सल्लाहकारहरु राजेन्द्र ओझा, शैलेन्द्रमोहन भटृराई र निर्वतमान अध्यक्ष सुर्य नारायण बराल लगायतले विभिन्न समस्या र चुनौतीका बाबजुद एफ. एम. ले सफलतापुर्वक सातौं वर्षमा प्रवेश गरेकोमा सम्पुर्ण श्रोताहरु, व्यापारिक प्रतिष्ठानहरु र कर्मचारीहरुप्रति आभार व्यक्त गर्दै एफ. एम. लाई श्रोताहरुको लोकप्रिय रेडियोको रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

एफ.एम. को कार्यप्रगति विषयमा प्रबन्ध निर्देशक बिनोद भुषाल, सञ्चालन भईरहेका कार्यक्रम र वर्तमान अवस्थाका विषयमा स्टेशन मेनेजर रामशरण नेपाली र समाचारका विषयमा समाचार प्रमुख ऋषिराम रानाभाटले प्रष्ट पारेका थिए ।

विश्व रेडियो दिवसको अवसर पारी २०७० सालदेखी आफ्नो नियमित प्रसारण शुभारम्भ गरेको एफ. एम. ले स्थानिय स्तरमा समाजप्रतिको उत्तरदायित्वलाई मध्यनजर गर्दै समाज सेवामा बिभिन्न सामाजिक कार्य गर्दै लोकप्रिय स्टेशनको रुपमा आफुलाई उभ्याउन सफल भएको छ भने विभिन्न क्षेत्रसँग सम्बन्धित शिक्षामुलक, सुचनामुलक, प्रत्यक्ष प्रसारण एवं मनोरन्जनात्मक कार्यक्रमहरु स्रोताहरुमाझ प्रसारण गर्दै आईरहेको छ ।

एफ. एम. का कार्यवाहक अध्यक्ष निर्मल भटृराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सन्दिप पौडेलले र धन्यवाद ज्ञापन संस्थापक अध्यक्ष विश्वमणि अधिकारीले गरेका थिए ।

Related Articles

Close