समाचार

सीमा बचाऊ अभियानद्धारा नेपालको नक्सा सार्वजनिक 

Spread the love

काठमाण्डौ, ८ मंसीर । नागरिक समाजका तर्फबाट गठन गरिएको ‘सीमा बचाऊ’ अभियानले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ ।  रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी ‘सीमा बचाऊ’ अभियानको नक्सा समितिले नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेको हो ।

नक्सा सार्वजनिक गर्दै अभियानका विज्ञ प्रा. डा. नरेन्द्रराज खनालले डिजिटल एलिभेसन मोडेलबाट नक्साको रेखांकन गरिएको बताए ।  नक्सा बनाउँदा काली नदीको मुहानबारे प्रस्ट पारिएको उनले जानकारी दिए ।  सीमा बचाऊ अभियानको नक्सा समितिका विज्ञ कोमलचन्द्र बरालले लिम्पियाधुरालाई पश्चिमी नेपालको सीमा मानेर नक्सा तयार पारिएकाले यसलाई विश्वव्यापी बनाउने जनाएका छन् । नागरिक अगुवा तथा सीमा बचाऊ अभियानका संयोजक भैरव रिसालले नेपालको नक्साबारे घर घरमा चर्चा हुनुपर्ने बताए ।  उनले भने , ‘हामीले अरुको जमिन नलिने र हाम्रो जमिन अलिकति पनि नछोड्ने मूल सिद्धान्त हो । सार्वजनिक गरिएको नक्सा सुगौली सन्धिअनुसारको छ ।’ भारततर्फबाट नेपाली भूभागमा गोलमाल भएकाले नयाँ नक्सा सार्वजनिक गर्नुपरेको उनको भनाइ थियो ।  नापी विभागका पूर्व महानिर्देशक पुण्य दाहालले काली नदीको मुहानबारे प्रमाण रहेको भन्दै आफूहरुले पनि विगतमा यसमा काम गरेको बताए ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतले निकालेको नक्सालाई काउण्टर गर्न नक्सा सार्वजनिक गर्नुपर्ने र गरिएकोमा खुशी व्यक्त गरे ।  त्यस्तै पूर्व सचिव तथा अभियानकर्ता डा. द्वारिकानाथ ढुंगेलले तयार पारिएको नक्सा नेपाल सरकारसम्म र्पुयाउने जानकारी दिए ।

Related Articles

Check Also

Close
Close