राजनितिसमाचार

ओली–दाहालबीच अझै जुटेन सहमति, बिहीबार फेरि छलफल गर्ने

Spread the love

असार ३१, काठमाडौँ —विवाद समाधान खोज्‍न भन्दै दिनहुँ छलफल गर्दै आएका नेकपाका दुई अध्यक्षबीच बुधबार पनि कुनै सहमति जुट्न सकेन ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा करिब तीन घण्टा छलफल भएपनि कुनै ठोस सहमति जुट्न नसकेको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले कान्तिपुरलाई बताए । सापकोटाका अनुसार बिहीबार फेरि दुई अध्यक्षबीच छलफल हुने भएको छ ।

दुवै अध्यक्षबीच मंगलबार पनि छलफल भएको थियो । तर, मंगलबार सामान्य छलफल गरेका ओली र दाहालबीच बुधबार भने विषयवस्तु केन्द्रीत छलफल भएको सापकोटाले जानकारी दिए ।

दुई अध्यक्षबीच सहमति गर्न भन्दै साउन २ सम्मका लागि बैठक स्थगित भएको छ । गत साता पनि ओली र दाहालले लगातार तीन दिन छलफल गरेका थिए ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताले प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपामा विवाद छ । ओलीले अहिलेसम्म दुवै पद नछाड्ने अडान लिएका छन् ।

दुई अध्यक्षबीचको छलफलमा केही बेर महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागी थिए । महासचिव पौडेलले दुई अध्यक्षबीचको छलफल सकारात्मक भए पनि अझै निष्कर्षमा पुग्‍न नसकेको बताए ।

Related Articles

Check Also
Close
Back to top button