अन्य

प्याराडाइज पेपरमा जोडियो नेपालः सम्पत्ति शुद्धीकरणले अनुसन्धान थाल्ने, लक्ष्मी सिमेन्टमा लगानी गर्न भारतीय व्यापारीले अफसोर प्रयोग गरेको खुलासा

Spread the love

२४ कात्तिक, काठमाडौं । केही दिनअघि मात्र अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) ले सार्वजनिक गरेको सनसनीपूर्ण ‘डकुमेन्ट’मा नेपाल पनि मुछिएको तथ्य फेला परेको छ ।

कालो धन सेतो बनाउन प्रयोग गरिने अफसोर रुट प्रयोग गर्दै नेपालमा लगानी गर्न दुई भारतीय व्यापारीले प्रयास गरेको प्याराडाइज पेपरले खुलासा गरेको हो ।

नेपालमा सन् २००९ मा दर्ता भएको लक्ष्मी सिमेन्टमा लगानी गर्ने नाममा भारतका अनिल गुप्ता र विनोद पोद्दारले यस्तो प्रयास गरेका हुन् । उनीहरुले बेलायत र आयरल्यान्डबीचको आइरिस समुद्री टापु ‘आइसल अफ म्यान’मा कम्पनी खोल्ने र नेपालको लक्ष्मी सिमेन्टमा लगानी गर्ने उद्देश्य देखाएका थिए । सोहीअनुसार उक्त टापुमा अफसोर कम्पनी खोल्न ऋण लिन सघाउने कम्पनीको वैधानिकता पाएको एप्पलबीसँग लगानी जुटाउन प्रस्ताव गरेका थिए ।

अक्टोबर २०१२ मा बेलायतको बि्रस्टोलस्थित ल फर्म टीएलटी सोलिसिटसर््मार्फत् यी व्यापारीले एप्पलबीमा प्रस्ताव लगेका थिए । उनीहरुले उक्त समयमा लक्ष्मी सिमेन्ट स्थापना गर्न जमिन तथा चुन खानी खरिद गरिसकेका थिए भने सिमेन्ट प्लान्ट बनाउने तयारी गरेका थिए ।

एप्पलबीले क्यारेबियन समुद्रको टापु मुलुक ‘ब्रिटिस भर्जिन आइल्यान्ड्स’मा स्थापना हुने भनिएको कम्पनीमार्फत् यी दुई भारतीय व्यापारीलाई लगानी जुटाउने मध्यस्थकर्ताको काम गरिरहेको थियो ।

तर, सम्पत्ती दायित्व मूल्यांकन प्रक्रियाको क्रममै समस्या भएपछि ती व्यापारीले प्रक्रिया स्थगित गरेका थिए । दुई व्यापारीले लगानीका लागि अफसोर कम्पनीबाट ८० लाख डलर (८० करोड नेपाली रुपैयाँ) जुटाउने प्रयास गरेका थिए । ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट ऋण प्राप्त हुने लगभग पक्कापक्की भएको थियो । ऋण लिन मध्यस्थता गरिरहेको एप्पलबीलाई बैंक खाता खोल्न भनियो पनि ।

एप्पलबीको रिर्पोटअनुसार आइसल अफ म्यानमा खोल्न लागिएको कम्पनीमा गुप्ताले ७० र पोद्दारले ३० प्रतिशत लगानी गर्ने योजना थियो । उक्त कम्पनीमा भारतबाट एक मात्र संस्थापकको रुपमा अनिल गुप्ताका छोरा अर्चित रहने भएका थिए ।

त्यसक्रममा एप्पलबीले नेपालबाट समेत दुई जनाको प्रतिनिधित्व हुने गरी सञ्चालकको नाम मागेको थियो । त्यसक्रममा पोखरा कन्ट्रोलर्स र काठमान्डु म्यानेजर्स नामक दुई संस्था स्थानीय सञ्चालकको रुपमा रहने प्रस्ताव गरिएको थियो ।

एप्पलबीले सम्पत्ति दायित्व मूल्यांकन प्रक्रियाका क्रममा नियमनका विषयमा चासो देखाएको थियो । उसले आइसल अफ म्यानमा स्थापना हुने भनिएको कम्पनीका लागि लगानी जुटाइदिने कम्पनीका लगानीकर्ताहरुको समेत विस्तृत विवरण मागेको थियो ।

नेपालजस्तो देशमा घुस दिएरै खानी तथा सिमेन्ट उद्योग उत्पादन गर्ने कम्पनी खोल्न सकिने बुझाइ एप्पलबीको देखिन्थ्यो । सोही कारण एप्पलबीले सम्पत्ति दायित्व मूल्यांकन प्रक्रिया गम्भीर रुपमा अगाडि बढायो ।

तर, व्यवसायीहरुले दायित्व मूल्यांकनका लागि आवश्यक कागजात जुटाउन नसकेपछि उक्त प्रक्रियाबाट बाहिरिएको पेपर्समा उल्लेख छ । तर, त्यसपछि पनि गुप्ता एप्पलबीको ग्राहकको रुपमा गएको विवरणहरु देखिएका छन् ।

उनले अफसोरबाट लगानी जुटाउन सके/नसकेको कुरा खुलेको छैन । लक्ष्मी सिमेन्टमा अनिल गुप्ताको समूह अम्बेको मुख्य लगानी छ । अम्बे समूह लक्ष्मी सिमेन्टको मुख्य प्रवर्द्धक हो ।

सम्पत्ति शुद्धीकरणले अनुसन्धान थाल्ने

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्याराडाइज पेपर्समा नेपाली उद्योगको संलग्नताका सम्बन्धमा अनुसन्धान थालेको बताएको छ । ‘पेपर्समा नेपाली उद्योगको पनि संलग्नता देखियो,’ विभागका एक उच्च अधिकारीले भने, ‘यस विषयमा हामीले अनुसन्धान थालेका छौं ।’

विभागले गुप्ता र पोद्दारले लक्ष्मी सिमेन्टमा लगानी कहाँबाट जुटाए भन्नेबारे अनुसन्धान थाल्ने भएको छ ।

प्याराडाइज पेपर्स गत आइतबार सार्वजनिक गरिएको गोप्य कागजातहरुको संग्रह हो । पेपर्समा विश्वका शक्तिशाली मुलुकका राष्ट्रप्रमुखदेखि विख्यात व्यक्तिहरूले गरेको कर छलीका विवरणहरु उल्लेख छन् ।

पेपर्समा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, बेलायती महारानी एलिजाबेथ द्वितीयालगायत पूर्वराष्ट्रप्रमुख, मन्त्री खेलाडी, कलाकार र विख्यात कम्पनीसमेत छन् । विख्यात बहुराष्ट्रिय कम्पनीहरू फेसबुक, एप्पल, माइक्रोसफ्टलगायतले कर छली गरेको विवरण पेपर्समा छ ।

पेपर्समा एक करोड ३४ लाख कागजात समावेश छन् । तीन वर्ष लगाएर करिब चार सय पत्रकारहरुको समूहले उक्त पेपर्स तयार पारेका हुन् । यसमा करिब एक सय समाचार एजेन्सी यसमा संलग्न थिए ।

गत वर्ष सार्वजनिक भएको यस्तै प्रकृतिको सनसनीपूर्ण खुलासा ‘पानामा पेपर्स’ले विश्वमै तरंग ल्याएको थियो ।

Related Articles

Back to top button