समाचार

पोखरा र लेखनाथ सुनसान

Spread the love

११ चैत, पोखरा । नेपाल सरकारले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र नियन्त्रण गर्न चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म सर्वसाधारणलाई घरबाहिर निस्कन रोक लगाएको छ ।
सरकारको निर्णयसँगै गण्डकी प्रदेशको राजधानी पोखरा र लेखनाथका क्षेत्र सुनसान बनेको छ । सबैजसो पसल, व्यवसाय, उद्योग कलकारखाना सवारी साधान बन्द हुनुका साथै पैदल यात्रुको आउतजावत भएको छैन । तर सरकारको आदेशको उल्लंघन गर्दै चलाएको केही मोटरसाइकललाई भने प्रहरीले नियन्त्रण लिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख इन्स्पेक्टर सन्तोष रोकाले सरकारी आग्रह नमान्ने दुई सय जनाको सवारी साधनको चाबी नियन्त्रणमा लिएको बताए ।
पोखराको प्रमुख बजारहरु महेन्द्रपुल, पृथ्वीचोक सुनसान भए पनि लेकसाइड क्षेत्रका केही किराना पसल खोलेका छन् । सर्वसाधारणलाई आउतजावत गर्न रोक लगाए पनि सडकमा केहि विदेशी पर्यटक आवतजावत गरेका छन् । तर प्राय पर्यटक झुमिरहने फेवा किनार भने सुनसान बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले कास्कीले स्वास्थ्य सम्बन्धी, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह गरेको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताएका छन् ।
यसै विच लेखनाथ क्षेत्रका बजारहरु बुढिबजार, तालचोक, शिशुवा, मोहोरिया, बेगनासताल सुनसान रहेका छन् । लेखनाथमा लक डाउन उलंघन गरी चलाइएका ७ वटा मोटर साइकल तथा स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यलय कास्कीले पोखरा लेखनाथका सबैजसो चोकमा बिहानैदेखि प्रहरीको तैनाथीलाई बाक्लो बनाएको छ।
बिहान ६ बजेदेखि नै लकडाउन सुरु भइसकेको अवस्थामा लेखनाथका सडकमा निस्किएका सर्वसाधरणलाई सुरक्षाकर्मीले रोक्दै घर फर्काइरहेका छन्।
सुरक्षाकर्मीहरुले सडकमा निस्किएका मानिसहरुलाई कडाइका साथ सोधखोज र चेकजाँच गरिरहेको छ । यसै विच लक डाउन उलंघन गरी सडकमा चलाइएका ७ वटा मोटर साइकल तथा स्कुटरलाई कारवाही स्वरुप नियन्त्रणमा लिइएको हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकका डिएसपी अर्जुन रानाभाटले बताए। विश्वमा देखिएको कोरोना भाइरसको विषम परिस्थितिलाई रोकथामका लागि चेकजाँचलाई कडा पारिएको रानाभाटले बताउँदै लक डाउनलाई अति आवश्यक वाहेक घरमै बसेर पालना गर्न डिएसपी रानाभाटले सबैमा आग्रह गरेका छन् ।

Related Articles

Back to top button