समाचार

पिएन क्याम्पसको प्रशासनमा तालाबन्दी

Spread the love

१९ माघ, पोखरा । देशकै ठूलो क्याम्पसका रुपमा चिनिएको पृथ्वीनारायण क्याम्पसका आंशिक प्राध्यापकको आन्दोलनका कारण १ हप्तादेखि पढाइ प्रभावित भएको छ । विगत लामो समयदेखि स्नातक तथा स्नातकोत्तर तहमा श्रेणीविहीन रहेर पढाइरहेको र विश्वविद्यालयले त्यसको उचित मूल्यांकन गर्नुपर्ने माग राख्दै १ हप्तादेखि पढाउन बन्द गरेका थिए । विगत १४ वर्षदेखि आफूहरुले न्यूनतम ज्यालामा पढाइरहेको र क्याम्पसमा ७० प्रतिशत आंशिक प्राध्यापकलाई विश्वविद्यालयले व्यवस्थापन गर्न आन्दोलनरत प्राध्यापकको माग छ । गत शुक्रबारदेखि समस्या समाधानका लागि त्रिभुवन विश्वविद्यालय उपकुदपतिको प्रतिनिधिको रुपमा पृथ्वी नारायण क्याम्पसमा ३ सदस्यीय कार्यदल खटिएको छ ।
क्याम्पसमा करिब १४ हजार विद्यार्थीले अध्ययन गर्दछन् । आशिंक प्राध्यापकले पढाइ बहिष्कार गरे पनि स्थायी प्राध्यापकले पढाइ निरन्तरता दिएका छन् ।
आंशिक प्रध्यापक विष्णु गौतमले आफूहरुले स्थायी वा करार नमागेको तर श्रमको मूल्यांकन मागेको दाबी गरे । ‘डिग्री गरेर पनि मासिक ६÷७ हजारमै विगत १४ वर्षदेखि त्रिविको पेन्डुलम भइराख्या छौं । एउटै काम गर्ने अन्य प्राध्यापकले महिनाको ६०÷७० हजार ज्याला बुझ्दा हामी रित्तै हुनुपरेको छ,’ उनले भने, ‘हामीले करार वा स्थायी मागेका होइनौं । हाम्रो काम अनुसारको ज्यालाको सुनिश्चिता होस भन्ने मागमात्रै राखेका हौं ।’ क्याम्पसमा कार्यरत २ सय १८ जना आंशिक प्राध्यापकले सामूहिक राजिनामा दिने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।
पढाइको माग राख्दै प्रशासनमा ताला
आन्दोलनरत प्राध्यापकका कारण पढाइ अनियमित भएको र चाँडै त्यसको समाधान गरी पढाइलाई निरन्तरता दिन माग राख्दै विभिन्न विद्यार्थी संगठनले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । उनीहरुले सिर्जित समस्यालाई वार्ताद्वारा समाधान गरी विद्यार्थीको पढाइ अगाडि बढाउन आग्रह गरे ।
अनेरास्ववियूका क्याम्पस कमिटीका अध्यक्ष राजन शर्माले कुनै पनि बहानामा विद्यार्थीको पढाइ प्रभावित गर्न नहुने बताए । उनले भने, ‘सोमबारदेखि क्याम्पसमा नियमित पढाइ नभए विद्यार्थी आन्दोलनलाई थप सशक्त ढंगबाट अघि बढाउँछौं । त्यसबाट हुने क्षति प्रशासनले बेहोर्नुपर्छ ।
नेपाल विद्यार्थी संगठन क्याम्पस कमिटीको सभापती दीपक शर्माले विद्यार्थीको पढ्न पाउने अधिकारका लागि सबै विद्यार्थी संगठन मिलेर आन्दोलन गर्न तयार रहेको बताएल । ‘भोलि (सोमबार)देखि के नेविसंघ के अनेरास्ववियू सबैले विद्यार्थीको अधिकार रक्षा गर्न प्रशासनसँग आन्दोलन गर्ने तयारी गरेका छौं, आशा गरौं हामी आन्दोलनमा उत्रन नपरोस्,’ उनले भने ।

Related Articles

Check Also

Close
Close