समाचार

पोखरा–लेखनाथ महानगरको नाम परिवर्तन हुने

Spread the love

पोखरा , १२ असार
कास्कीको पोखरा–लेखनाथ महानगरपालिकाको नाम फेरिने भएको छ । नगरसभाको तेस्रो दिनको बैठकले नाम फेर्ने निर्णय गरेको हो । नगरसभाको तेस्रो दिनको बैठकले नामबाट लेखनाथ हटाएर पोखरा मात्रै राख्न प्रदेशसभामा सिफारिस गरेको हो ।
वडा नम्बर १९ का अध्यक्ष शोभामोहन पौडेलले सोमबार सभामा नाम परिमार्जनको प्रस्ताव पेश गरेका थिए । उहाँको प्रस्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका थिए । पौडेलको प्रस्तावमाथि आज भएको छलफलमा ४२ जनाले ‘पोखरा महानगरपालिका’ राख्नुपर्ने पक्षमा आफ्नो धारणा राखेका थिए । कानूनत स्थानीय तहले नाम परिमार्जन गर्न प्रदेशलाई सिफारिस गर्नुपर्छ । प्रदेशले संघीय सरकारलाई पठाउँछ । नेपाल सरकारले राजपत्रमा प्रकाशित गरी नाम परिवर्तन भएको घोषणा गरेपछि मात्रै कामकाजमा नयाँ नाम प्रयोग हुन्छ ।

तत्कालिन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका गाभिएर महानगर बनेको हो । कवि शिरोमणि लेखनाथ पौडयालको जन्मथलो भएकोले उहाँकै नामबाट लेखनाथ नगरपालिकाको नामाकरण भएको थियो । धेरैले नाम लामो र सरकारी कामकाजमा प्रयोग गर्न समेत अप्ठ्यारो भएकोले पोखरा मात्रै राख्नुपर्ने राय राख्दै आएका थिए । महानगर बने देखि नै नाममा विवाद भएको थियो । नाम परिवर्तन हुने खबरले साविकको लेखनाथबासी भने रुष्ट भएका छन् । लेखनाथ हटाउने सुनेपछि केहीले आन्दोलनको तयारी गरिरहेका छन् । महानगरको नाम पोखरा राखेमा निर्माणाधिन अन्तर्रा्ष्ट्रिय विमानस्थल लेखनाथको नामबाट नामाकरण हुनुपर्ने उनीहरुको माग छ ।

Related Articles

Close