समाचार

प्रदेश ४ को नाम गण्डकी सिफारिस

Spread the love

विष्णुहरि पौडेल
पोखरा, २१ जेठ ।
प्रदेश ४ को नाम गण्डकी राख्न सिफारिस गर्दै प्रदेश सभाद्वारा गठित समितिले सोमबार प्रतिवेदन पेस गरेको छ । सुझाव संकलनका क्रममा ७२ प्रतिशत मत गण्डकीको पक्षमा देखिए पछि गण्डकी सिफारिस गरेको समितिका ज्येष्ठ सदस्य सांसद बिन्दुकुमार थापाले संसदलाई जानकारी दिएका थिए ।उनले प्रदेशको नामबारे सुझाव लिन जिल्लाहरुमा अन्तक्रिया गरेको, दलहरुसँग लिखित धारणा मागेको, विज्ञहरुको सल्लाह मागेको, ज्ञापनपत्रहरु बुझेको लगायत उल्लेख गरे । सांसद थापाले साविक एमाले, कांग्रेस, जनमोर्चाले दिएको सुझावमा गण्डकीलाई प्राथमिकता क्रमको १ नम्बरमा राखिएको जानकारी दिए । त्यस्तै ११ जिल्लामध्ये ८ वटाबाट पनि पहिलो नम्बरमा गण्डकीकै पक्षमा सुझाव आएको हो।अन्तक्रियाहरुका सहभागीहरुले दिएको मतका आधारमा गण्डकी पछिको क्रममा तमुवान मगराँत नामकरणको पक्षमा मत देखियो।
चैत १२ गते प्रदेश सभाले प्रदेश राजधानी र नामांकन समिति गठन गरेको थियो । सुरुमा १ महिनाको म्याद पाएको समितिलाई पहिला १० दिन थपेर वैशाख २२ सम्म समय दिइएको थियो । सबै सरोकारवालाको सुझाव नआइसकेको भन्दै समितिलाई फेरि १ महिना थपिएको थियो । जेठ २३ गते बुधबार त्यो म्याद सकिनुअघि समितिले सोमबार संसदमा प्रतिवेदन पेस गरेको हो । गण्डकी नाम सर्वसम्मत सिफारिस गर्न समितिका एघारमध्ये १० सदस्य राजी भएका थिए। प्रदेश ४ को नाम गण्डकी राख्न सिफारिस समितिले प्रदेश राजधानी पोखरा सिफारिस गरेको छ । पोखरा राजधानी हुनुपर्छ भनेर ९३ दशमलव ८७ प्रतिशत सहभागीले सुझाएको जानकारी प्रतिवेदनमा छ ।संविधानको भाग ३३ ले संक्रमणकालीन व्यवस्था गरेको छ । त्यस भाग अन्तर्गत संविधानको धारा २९५ को उपधारा २ मा प्रदेश नामकरण सम्बन्धी व्यवस्था रहेको छ।

Related Articles

Back to top button