अन्य

रुकुम घटना जातीय विभेदको पराकाष्ठा : मानव अधिकार आयोग

Spread the love

जेष्ठ १४, काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर जेठ १० मा रुकुम पश्चिममा भएको अमानवीय घटनालाई जातीय विभेदको पराकाष्ठाको संज्ञा दिएको छ ।

आयोगले बुधबार विज्ञप्ति जारी गरी यस्तो अमानवीय र आपराधिक घटनाको सुक्ष्म र निष्पक्ष छानबिन तथा अनुसन्धान गरी दोषी सबैलाई कानुनी दायरामा ल्याई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले घटनामा नवराज विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढाको हत्या तथा अरू ३ जनाको स्थिति अज्ञात रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनामा मारिएका व्यक्तिको परिवारलाई तत्काल राहत र उचित क्षतिपूर्ति दिन तथा बेपत्ताको खोजी गर्नसमेत सरकारलाई आग्रह गरेको छ । बेपत्ता मध्येका एक लोकेन्द्र सुनारको शव बुधबार भेटिएको छ ।

आयोगले विज्ञप्तिमा उक्त घटना समाजमा जातीय विभेदलाई निर्मूल पार्न संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेदभाव विरुद्धको हक, समानताको हक, सम्मानपूर्वक बाँच्न पाउने हक, जातीय तथा सामाजिक छुवाछुत तथा भेदभाव (कसुर र सजाय) ऐन तथा सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिविपरीत रहेको जनाएको छ ।

आयोगले विज्ञप्तिमा जातीय विभेदको विषयमा शून्य सहनशीलता कायम गर्नसमेत सरकारलाई सचेत गराएको छ । विज्ञप्तिमा घटनाका सम्बन्धमा आयोगले समेत प्रभावकारी अनुसन्धानको काम अगाडि बढाइरहेकोसमेत उल्लेख छ ।

आयोगले मुलुकका विभिन्न जिल्लामा विगत केही समययता बढ्दै गएको जातीय विभेदको घटनाप्रति शून्य सहनशीलता कायम गरी सबै घटनाको सुक्ष्म र निष्पक्ष अनुसन्धान गरी शीघ्र कानुनी कारवाही गर्न तथा घटनामा जीवन गुमाउनेका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ ।

Related Articles

Close