खेलकुुदसमाचार

सागमा पदक जिताउने प्रशिक्षकले पाए पुरस्कार

Spread the love

जेठ ५, काठमाडौं । गत मंसिरमा घरेलु भूमिमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जिताउने प्रशिक्षकले नगद पुरस्कार प्राप्त गरेका छन् । युवा तथा खेलकुद मन्त्रालय सोमबार एक विज्ञाप्ति जारी गर्दै सागमा सहभागी विभिन्न खेलका खेलाडीलाई पदक जिताउने प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरेको बताएको छ ।

विज्ञाप्तिमा विभिन्न खेलका मुख्य प्रशिक्षक तथा सहायक प्रशिक्षक गरी ६८ प्रशिक्षकलाई पुरस्कारको रकम सम्बन्धित व्यक्तिको बैंक खातामा राखिदिएको जनाएको छ । तर, कतिपय प्रशिक्षकको पेस्की फर्छ्योट नभएको भन्दै उनीहरूको पुरस्कार रोकिएको छ ।

स्वर्ण पदक विजेता मुख्य प्रशिक्षकले ५ लाख, रजतले ३ लाख र कास्यले २ लाख रुपैयाँ प्राप्त गरेका छन् । यस्तै, स्वर्ण जित्ने सहायक प्रशिक्षकले ३ लाख, रजतले २ लाख र कास्यले १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यसअघि पदक जित्ने ४३५ खेलाडीका लागि १९ करोड ५३ लाख मन्त्रालयले सम्बन्धित खेलाडीको बैंक खातामा जम्मा गरिसकेको छ । २०७६ मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुरमा भएको १३ औं सागमा नेपालले ५१ स्वर्णसहित कुल २०७ पदक जितेको थियो ।

Related Articles

Close