समाचार

सभामुख सापकोटाले लिए सपथ, ‘एमसीसी’ पारित गर्न हतार गर्नु पर्दैन

Spread the love

१३ माघ, काठमाडौं । सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले आज सपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई सपथ खुवाएकी राष्ट्रपति कार्यालयले जनाएको छ ।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरू उपस्थित छन् ।

प्रतिनिधिसभाको हिजोको बैठकले सापकोटालाई सर्वसम्मतरुपले सभामुख चयन गरेको थियो । सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन् ।

सापकोटा विरुद्ध द्धन्द्धकालिन मुद्दा अहिले पनि विचाराधिन अवस्थामा रहेको छ । साथै, उनलाई सभाुमख हुनबाट रोक्न माग गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सापकोटालाई सभामुख बनाउने निर्णय नेकपाले गरेपछि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले राजिनामा दिएका थिए ।

नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसलाई पारित गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।

सोमबार सिंहदरबारमा पदभार ग्रहणपछि सन्चारकर्मीहरुसँग कुरा गर्दै सभामुख सापकोटाले एमसीसीबारे बहस छेडिएको र सबैले अध्ययन गर्नुपर्ने भन्दै पारित गर्न हतारिन आवश्यक नरहेको टिप्पणी गरे ।

एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मत बाझिएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित मन्त्रीहरु यो सम्झौता पारित गर्नुपर्ने मत राखिरहेका छन् भने अन्य नेताहरुले अमेरिकाको ‘इन्डो प्यासिफिक’ रणनीतिको अंग भएको आशंका गरेका छन् ।

‘लोकतन्त्रमा विरोध भइरहन्छ’

अर्को एक प्रसंगमा सभामुख सापकोटाले आफ्नो विरोधमा भइरहेको प्रदर्शनलाई लोकतन्त्रको अंगको रुपमा लिएको बताएका छन् ।

‘लोकतन्त्रमा विरोध भइरहन्छ । यसलाई अन्यथा लिएको छैन’–उनले भने । उनले आफूविरुद्ध अदालतमा रहेको मुद्दा प्रक्रियामा रहेकाले त्यसबारे बोल्नु मनासिब नहुने बताए ।

आफूविरुद्ध उठेका प्रश्नहरुको निरुपण हुँदै जाने भन्दै सभामुख सापकोटाले के सही हो र के गलत हो भन्ने कुरा करोडौं जनतामा गएकाले हतारित आवश्यक नरहेको प्रतिक्रिया दिए । प्राथमिकताका आधारमा संसदका कामलाई अगाडि बढाउने पनि उनले बताए ।

सभामुख सापकोटाले जननिर्वाचित संसदको प्रतिष्ठालाई माथि उठाउने गरी काम गर्ने भन्दै प्रतिपक्षलाई समेट्न निकै राम्रो आधार तयार भएको उल्लेख गरे ।

Related Articles

Close