समाचार

चौध विद्यार्थी एसईईबाट वञ्चित

Spread the love

चैत ४ म्याग्दी । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीका १४ जना विद्यार्थी सहभागी हुनबाट वञ्चित भएका छन् । कक्षा ९ मा परीक्षा फारम भरेका तर तोकिएको हाजिरी नपुगेका १४ जना विद्यार्थी एसईईमा सहभागी हुनबाट वञ्चित भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

नौ जना छात्रा र पाँचजना छात्र एसईई परीक्षामा सहभागी हुनका लागि अयोग्य पहिचान भएका एकाइका प्रमुख दलबहादुर थापाले बताए ।

एसईईमा सहभागी हुन कक्षामा ७५ प्रतिशत हाजिर भएको हुनुपर्ने नियम छ । गतवर्ष हाजिरी नपुगेर एसईईमा सहभागी हुन अयोग्य भएका विद्यार्थी सङ्ख्या ३१ जना थियो । विवाह, वैदेशिक रोजगार, पारिवारिक र आर्थिक कारणले पढाइलाई निरन्तरता दिन तथा नियमित विद्यालय आउन नसकेका कारण उनीहरु एसईई परीक्षामा सहभागी हुनबाट वञ्चित भएका हुन् ।

यसवर्ष म्याग्दीका एक हजार ११० जना छात्रा र एक हजार ८७ जना छात्र गरी कुल दुई हजार १९७ जना विद्यार्थी एसईईमा सहभागी हुने भएका छन् ।

एक वटा खुला विद्यालयसहित ७१ वटा विद्यालयका विद्यार्थी सहभागी हुँदैछन् । हेम मावि शिवाङ, जनप्रिय मावि दरवाङ, मङ्गला मावि बाबियाचौर, धवलागिरि मावि सिङ्गा, बेनी सामुदायिक मावि, प्रकाश मावि, न्यु वेष्ट पोइन्ट आवासीय मावि, मुक्तिधाम मावि र मुक्तिमार्ग माविमा परीक्षा केन्द्र तोकिएको छ ।

बेनी सामुदायिक मावि र न्यु वेष्ट आवासीय माविबाहेकका विद्यालयमा सम्बन्धित विद्यालयका प्रअलाई नै केन्द्राध्यक्ष तोकिएको छ । परीक्षा केन्द्राध्यक्ष नियुक्त गरेर उत्तरपुस्तिका पठाइसकिएको र प्रश्नपत्र पनि मंगलबारसम्म परीक्षा केन्द्रमा पुर्‍याउने तयारी छ ।

यसैगरी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटको ज्ञानोदय माविको दृष्टिबिहीन स्रोत कक्षाका प्रेम विश्वकर्मा मुक्तिधाम मावि भगवती केन्द्रबाट परीक्षामा सहभागी हुँदैछन् । साधारणतर्फ चैत ६ देखि १४ गतेसम्म र प्राविधिकतर्फको १७ गतेसम्म एसईई परीक्षा सञ्चालन हुँदैछ ।

Related Articles

Back to top button