समाचार

छोरीसँगै एसइइमा भिँड्दै सांसद शान्ता

Spread the love

९ चैत्र,  घोराही

प्रतिनिधि सभा सदस्य शान्ता चौधरी यस पटक माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिँदैछिन्। गत २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो। कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन्। अनि खुला विद्यालयमा भर्ना भइन्।

उनी यस पटक आफ्नी १७ वर्षीया छोरी विनु चौधरीसँग एसइइको परीक्षा दिँदैछिन्।  “यसपालि त म छोरीसँग परीक्षा दिँदैछु,” उनले हाँस्दै भनिन्, “ममी कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्, मलाई डर लाग्छ।”

नियमिततर्फ महेन्द्र मावि तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरी(सिम्बोल नं ०५८८४५३ भी)को सेण्टर मावि तुलसीपुरमा परीक्षा केन्द्र तोकिएको छ। उनकी छोरी विनुले भने बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल वसुन्धरा, काठमाडौँबाट परीक्षा दिँदै छिन्।

नेकपा संसदीय दलका सचेतक समेत रहेकी चौधरीले भनिन्, “व्यस्तताको कारण नियमित कक्षा जान पाइन, सानोमा पनि पढ्ने बानी भएन । त्यसैले अहिले मेहनत धेरै गर्नुपरेको छ।”बाल्यकालदेखि विद्यालय त देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उनको गुनासो छ । सामाजिक काम गर्दागर्दै राजनीतिमा पुग्नुभएका नेत्री चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो। नेताहरू पढ्दैनन् भन्ने भनाइले उनलाई पटक पटक घोच्यो र विद्यालयमा भर्ना भइन्।

विसं २०६४ मा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझिन् र पढ्नतिर लागिन्। केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उनी बताउँछिन।

शुरुशुरुमा कक्षा ८ र ९ मा नियमित विद्यालय पनि गइन्। डाँडागाउँ माविमा कक्षामा बसेका र पढेका साना भाइबहिनी घरमा आएर जिस्काउँदा उनलाई अचम्म लाग्छ। “उनीहरु कसको ग्रेड धेरै आउँछ है, हाम्रो त प्रतिस्पर्धा हुन्छ है” भन्दै हाँस्छन्। उनीहरुको हँसाइले आफूलाई झन् पढ्नु पर्दोरै’छ भन्ने सांसद चौधरीलाई लाग्छ।

शुरुमा स्कुल जाँदा बुबाआमाले समेत विश्वास गरेनन्। असी वर्ष कटिसकेका बुबा हसुलाल र ७५ वर्षीया आमा कुन्तीले शुरुमा त “विद्यालय नै नजाने मान्छेले पनि किन पढ्न कस्सिएको होला, नचाहिने काम गर्ने?” भनेका थिए। पछि नियमित विद्यालय जाने पढ्ने गरेको देखेपछि विश्वास गरेको उनले सुनाइन्।

सांसद चौधरी घरमा आनन्दले पढ्न पाउँदिनन्। “माननीय भन्छन्, जिल्लामा हुने हरेक सानाठूला औपचारिक कार्यक्रममा सबैले सम्झिन्छन्”, उनले भनिन्, “गएन भने पनि जनताले बोलाएको ठाउँमा आउँदिन भन्छन्, त्यसैले म नकार्न सक्दिन। गयो भने पढ्ने समय पाइँदैन।”

अब परीक्षालाई ध्यानमा राखेर भाषण गर्ने कार्यक्रममा जान छाडेको उनले बताइन्। उनी राति पढ्न गाह्रो भएपछि प्रायः बिहान र दिउँसो पढ्छिन्। “रातिसम्म धेरै बस्न सक्दिन। पूरा समय सुत्नुपर्छ भन्ने लाग्छ, त्यसैले छिट्टै सुत्छु। बिहान छिटो उठेर पढाइ थाल्छु।” उनलाई जति सक्यो धेरै ग्रेड ल्याउने ध्याउन्न छ। उनलाई अरु सबै कामभन्दा पढ्ने काम सबैभन्दा गाह्रोजस्तो लाग्छ तर पनि यही गाह्रो काम गर्न उनी कस्सिएकी छिन्।  उनलाई सबैभन्दा सजिलो नेपाली र सामाजिक विषय लाग्छ भने गणित र विज्ञान अप्ठेरो लाग्छ। अङ्ग्रेजीमा त उनी बोल्न सक्छिन् तर व्याकरण मिलाएर लेख्न भने अप्ठेरो लाग्छ। एसइइपछि माथिल्लो कक्षामा ग्रेडअनुसारको विषय छान्ने उनको धोको छ।

Related Articles

Close