समाचार

एसएसपी खत्रीलाई थुनामा राख्न आदेश

Spread the love

जेष्ठ १७, विराटनगर

सुन तस्करी र सनम शाक्य मुद्दाका अभियुक्त एसएसपी श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले सुन तस्करीमा संलग्न रहेको भन्दै एसएसपी खत्रीलाई थुनामा राख्न आदेश गरेको हो। बिहीबार मोरङ जिल्ला अदालतसमक्ष आत्मसर्पण गरेपछि उनीमाथि बयान लिइएको थियो।

अदालतसमक्ष खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको बयान दिएका छन्। उनले सुन नै नभेटिएको अवस्थामा तस्करी भएको भन्ने कुरा नै पुष्टि नहुने समेत बताएको स्रोतले जनाएको छ। उनले आत्मसमर्पण गरेलगत्तै न्यायाधीश शर्माको इजलासमा बयान लिन सुरु गरिएको थियो। करिब ५ घण्टा चलेको बयानमा उनले त्रिभुवन विमानस्थलबाट सुन तस्करी भएको कुरा आफूलाई थाहा नभएको र तस्करीमा संलग्न समेत नरहेको दाबी गरेका छन्। सुन तस्करीमा सघाएबापत रकम लिने गरेको कुरा पनि सत्य नभएको उनको भनाइ थियो। उनको बयान सकिएपछि सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता पुण्य प्रसाद पाठकले बहस गरेका थिए। खत्रीका तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस प्रस्तुत गरेका थिए।

यो प्रकरणमा मुछिएपछि फरार रहेका खत्रीले अदालतमा बिहीबार बिहान आत्मसमर्पण गरेका थिए। उनी फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि सर्कुलर जारी गरेको थियो। पारिवारिक स्रोतका अनुसार खत्री भारतको देहरादुनमा बसिरहेका थिए। सुनकै मुद्दामा काठमाडौंमा जारी अर्को मुद्दाको तारेख जेठ २४ गते परेकाले उनी आएको स्रोतले बताएको छ। एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए। २०७३ चैत ४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो।

Related Articles

Back to top button