रोचकसमाचार

तीज पर्वको शुभकामना

Spread the love

तीज शब्द नामारकण सम्बन्धमा कुरा गर्दा तीज बर्षायाममा निस्कने एकप्रकारको किरा भएको र बर्षायामको उत्तरार्धमा भएको यो चाडको नामाकरणको कथा यसै बर्षे किरासंग समबन्धित भएको पाइन्छ । अर्कोतर्फ तीहार, त्योहार भन्नाले उत्कर्षको चाडका रुपमा जनाउ दिने शब्द मानिने र तीज पनि त्योहारबाट तीजको स्वरुपमा आएको कुराहरु पनि पाइन्छ । बास्तवमा हरितालिका तीजले माता पार्वतीले भगवान शिव पाउँ भनेर गरेको १०८ बर्षको तपस्याको याद दिलाउने गर्दछ । तीजको साँझ १०८ सुतेवत्ति दियो प्रज्जवलन गरिन्छ र ती दिपशिखाहरु रातभरिनै बल्नुपर्ने धारणा छ र साँझमा चन्द्र भगवानको अर्चना गर्नुपर्दछ । पति पत्नि, भावि पति, पत्नि अनि सम्पूर्ण परिवारबिचको माया सद्भाव बढाउन तीज पर्वको महत्व छ ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवपार्वतीको पूजा र उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।निराहार, जलाहार र फलाहार व्रतमा सक्नेले निराहार, नसक्नेले जलाहार र जलाहार पनि नसक्नेले फलाहार व्रत गर्नु उत्तम मान्यता छ । सकाम, निष्काम, नित्य, नैमित्तिक, र काम्य व्रत हुन्छन् । सत्ययुगमा हिमालयपुत्री पार्वतीले तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेकी थिइन् । पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ । व्रत बस्नेले आफ्नो क्षमतानुसार पानी, कन्दमूल (सखरखण्ड, पिँडालु आदि), फलफूल, दूध, हवनीय वस्तु, श्रोत्रीय ब्राह्मणले खान हुने चिज, गुरुको वचनानुसारका खानेकुरा र औषधि गरी आठ कुरा खान हुने शास्त्रीय मान्यता छ ।
सबैलाई शुभकामना, यो तीजले महिलाहरूको नेतृत्व शक्ति, परिवार, समाज र राज्यमा महिलाको समान पहुँचलाई झनै शक्तिकासाथ अघि बढाउन सकोस , सबैको जय होस । यसपालीको तीजको कृपाले बिग्रिएका सम्बन्ध सप्रियोस्, भावनाहरु जोडिउन्, हरेक नेपाली जोडीहरुको हजारौं जोर सपनाका थानहरु पुरा हुन्, गाउँले मिडियाको सबैमा शुभकामना ।

Related Articles

Close