अन्य

किन सरे उपेन्द्र यादव सप्तरी ?

Spread the love

कार्तिक १९, २०७४-संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे । यसपालि संघीय समाजवादी फोरमका नाममा भिड्दै छन् । पहिला मोरङ र सुनसरीबाट प्रतिस्पर्धा गरेका उनी यसपालि सप्तरी आइपुगेका छन् । भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका यादवको आगमनले सप्तरी २ मा चुनावी माहोल तताएको छ । राष्ट्रिय व्यक्तित्व बनेका उनीसँग प्रतिस्पर्धा गर्न अन्य दल र उम्मेदवारले पनि गहन गृहकार्य गरिरहेका छन् । यसले चुनावी माहोल थप रोमाञ्चक बनेको छ । जिल्लाका अन्य क्षेत्रमा भन्दा यसमा बढ्ता ‘चुनाव लागेको’ झल्को मिल्छ ।

यादवको राजनीति एकप्रकारको यात्रा हो । अध्यापनको ‘पार्टटाइम’ उपयोग गर्दै ‘मधेसी जनअधिकार फोरम’ नामक गैरसरकारी संस्था खोलेका उनले अन्तत: त्यसैलाई निर्वाचन आयोगमा दर्ता गरेर दलको स्वरूप दिए । उनको राजनीतिक रेखा सेयरबजारजत्तिकै वक्र छ– कहिले उकालो, कहिले ओरालो । चुचुरामा टेकेर राजनीतिक पथमा लागेका उनी बीचमा एकपल्ट झन्डै ‘आधार शिविरमै’ आइपुगे । स्थानीय तह चुनावको परिणामले क्रमश: तंग्रिएका छन् । यो निर्वाचनमा राजपासँगको गठबन्धनका कारण पुन: मधेसमा अग्रपंक्तिमा चर्चामा छन् । प्रदेश २ मा तपाईंको दलको अवस्था के हुने आकलन गर्नुभएको छ ? सोध्न नपाउँदै भने, ‘हामी ठूलो दल बन्छौं, हाम्रो गठबन्धनले यस प्रदेशमा बहुमत ल्याउँछ ।’

राजनीतिको प्रस्थानबिन्दु एमालेलाई र ‘ट्रान्जिट’ माओवादीलाई बनाएका यादव बौद्धिक नेतामा गनिन्छन् । उनी विज्ञानमा स्नातकोत्तर, कानुनमा स्नातक हुन् । गैरसरकारी संस्थाकालीन ‘मधेसी जनअधिकार फोरम’ का सहकर्मी रामरिझन यादव भने उनलाई ‘पर्यटक उम्मेदवार’ ठान्छन् । व्यंग्यशैलीमा उनी भन्छन्, ‘उपेन्द्रजी ठाउँ सर्दै मोरङबाट सुनसरी आए, अहिले सप्तरी । अब सिरहा जालान् ।’ उपेन्द्रले पहिलो संविधानसभा चुनावमा मोरङ ५ र सुनसरी ५ दुवैबाट जिते । २०७० को चुनावमा फेरि दुवै जिल्लाबाट उठे, मोरङमा हारे, सुनसरीमा जिते ।

कमजोर छैनन् प्रत्याशी 

यादवका प्रत्याशी पनि कमजोर छैनन् । कांग्रेसका सकलदेव सुतिहार यसअघिका समानुपातिक सांसद हुन् । ‘यहाँ कुनै हेबिवेट उम्मेदवार छैनन्,’ सुतिहारले भने, ‘फोरम अध्यक्ष यादव हेबिवेट भएको भए आफ्नो पुरानो क्षेत्र सुनसरी–मोरङमै बस्नुपथ्र्यो, किन सप्तरी आए ? सप्तरीका जनताले आफ्नो माटोपानीसित भिजेका उम्मेदवारलाई मत दिनेछन् ।’

उनले नेपालको लोकतन्त्र संस्थागत गर्न कांग्रेस आवश्यक भएको र आफू उक्त पार्टीको उम्मेदवार भएकाले जनताले मत दिने दाबी गरे । आफ्नो चुनावी एजेन्डा सुनाउँदै सुतिहारले भने, ‘अब आन्दोलन होइन, जर्जर भइसकेको मधेसलाई आर्थिक विकास र सुशासनतर्फ लग्नु नै मेरो चुनावी मुद्दा हो ।’

वाम गठबन्धनबाट माओवादी उम्मेदवार बनेका पूर्वमन्त्री उमेशकुमार यादवले आफू यस क्षेत्रका जनताको वास्तविक सेवक भएको दाबी गरे । निवर्तमान सांसद यादवले भने, ‘सप्तरीका जनताले जिल्लाका आप्रवासी र ज्वाइँहरूलाई होइन, आफ्नो माटोपानीमा रहेर सहज पहुँचमा भएको मलाई जिताउनेछन् ।’ आफू चुनाव जित्नेमा विश्वस्त रहेको दाबी गर्दै उनले उपेन्द्रतिरै व्यंग्य गरे, ‘हार्ने डर भएकाहरू आफ्नो क्षेत्र छाडेर यता आएका छन्, डर मलाई होइन, तिनलाई छ ।’ उनले आफूले जिल्लाका लागि धेरै योजना ल्याएको तर्क गरे ।

चुनौती बने ठाकुर

संघीय फोरम र राजपाले चुनावी गठबन्धन गरे पनि अध्यक्ष यादवकै विरुद्ध राजपाका पूर्वसहमहामन्त्री जयप्रकाश ठाकुरले बागी उम्मेदवारी दिएका छन् । उनले आफ्नो उम्मेदवारी नेताहरूको व्यक्तिवादी चरित्रविरुद्ध र कार्यकर्ताको सम्मानका लागि भएको बताए । ‘वर्षभरि आन्दोलन गरेर संगठन गरी बाली लगाउने हामी, सप्रेको बाली भित्र्याउन अर्कै आउने ?’ उनले आफू उठ्नुको कारण खोले, ‘नेताहरूको अकर्मण्यताविरुद्ध मेरो पहल हो ।’

ठाकुरले सप्तरी २ को बाढीको समस्यादेखि शिक्षा, स्वास्थ्य, बाटोघाटो, आर्थिक विपन्नता र बेरोजगारीको अवस्थालाई आफूले नजिकबाट हेरेकाले समाधान पनि दिन सक्ने दाबी गरे । ‘सप्तरीमा मधेस आन्दोलनका क्रममा जनता गोली खाएर मारिइरहँदा, बाढीले गाउँबस्ती डुबेर जनताको बेहाल हुदा कहाँ थिए उपेन्द्र ?’ उनले प्रश्न गरे । तत्कालीन तमलोपाको सहमहामन्त्री भई ठाकुर दोस्रो संविधानसभा निर्वाचनमा सप्तरी ३ बाट चुनाव लडेका थिए ।

फोरम अध्यक्ष यादवले सुनसरी र मोरङमा आफ्नो अवस्था राम्रो हँ‘दाहँ‘दै सप्तरी आउनुको मुख्य कारण ‘भेदभावविरुद्धको लडाइँ’ भएको बताए । आफ्नो जन्मभूमि सधैं पछि परेको पीडा साम्य पार्न आफूले सप्तरी २ रोजेको उनको दाबी छ । ‘आधुनिक नेपाल निर्माण हुँदादेखि नै राज्यको उपेक्षाको सिकार बन्यो सप्तरी । सुगम र उर्वर भूमि हुँदाहँ‘दै यसलाई पछि पारियो,’ उनले भने, ‘यसको मानव विकास सूचकांक कर्णालीकै हाराहारी छ । त्यसलाई प्रस्ट दृष्टिकोणसहित अघि लैजान मेरो पहल हुनेछ ।’ उनले हुलाकी राजमार्गको उदाहरण दिँदै भने, ‘जंगलबाट महेन्द्र राजमार्ग बनाइयो, मानव बस्तीको हुलाकी राजमार्गलाई पन्छाइयो । मधेसप्रति राज्यको भेदभाव हट्नुपर्छ ।’ यिनै मुद्दा लिएर आफूले चुनाव जित्ने उनको दाबी छ ।

राजनीतिक उतार–चढाव

मधेस आन्दोलनको पृष्ठभूमिमा गैससबाट राजनीतिमा मोडिएका उपेन्द्रले अन्तत: आफ्नो दलको नामबाट ‘मधेसी’ शब्द झिकेका छन् । पटक–पटकको फुटबाट चोइटो रहेको उनको दलले एकताका नाममा समेत अस्तित्वको एक चोइटो ‘फोरम’ मात्र पाएको छ । तीव्र एवं चामत्कारिक छलाङ मारेका राजनीतिज्ञमा पर्छन् यादव । उनी सप्तरी महदेवाको मझौरामा जन्मिएर मधुवन सरेका थिए । प्रारम्भिक शिक्षा त्यहीं लिए पनि मावि पढ्न पुन: सप्तरी आए । त्यसपछि सुनसरीबाटै राजनीतिमा छिरेका यादव यसपालि चुनाव लड्न सप्तरी आइपुगेका हुन् ।

२०४८ मा एमालेबाट सुनसरी ४ बाट प्रतिनिधिसभामा उठेका उनी २०५३ सम्म एमालेमै रहे । २०५४ मा मधेसी जनअधिकार फोरम नामक गैसस स्थापना गरे । उक्त संस्थालाई सबैले माओवादीको भ्रातृ संगठनका रूपमा हेर्थे । किनकि, अध्यक्ष यादव त्यति बेला माओवादीको वैकल्पिक केन्द्रीय सदस्य भइसकेका थिए । स्थापनाकालमा तत्कालीन जनमोर्चाका नेता रामरिझन यादव, रामकुमार शर्मालगायत फोरममा थिए । अर्धभूमिगत अवस्थामा पटनामा बस्दै आएका बेला उपेन्द्र माओवादी नेताहरू मातृका यादव र सुरेश आलेमगरसँगै पक्राउ परेका थिए । उनलाई गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहले जोगाएका थिए, मातृका र सुरेशलाई नेपाल ल्याइएको थियो ।

पटना घटनापछि सुस्ताएका यादव फेरि त्यति बेला जागृत भए, जब अख्तियारको थुनाबाट कांग्रेसका तत्कालीन नेता जयप्रकाशप्रसाद गुप्ता निस्किए । गुप्ता फोरमका महासचिव बनाइए । गुप्ताले संस्थालाई राजनीतिक दलमा रूपान्तरण गर्ने प्रस्ताव ल्याए । केहीले त्यसको विरोध गरे । मतदानमा गुप्ताको प्रस्ताव बहुमतले पारित भयो । २०६२/६३ को जनआन्दोलन सफल भएपछि अन्तरिम संविधान जलाउँदा राजधानीमा प्रहरीले हस्तक्षेप गर्‍यो । त्यसपछि मधेसमा एकाएक आन्दोलनले उचाइ लियो । २०६३ माघ २ मा मधेसमा सुरु भएको आन्दोलनका क्रममा लहानमा माओवादी कार्यकर्ताले चलाएको गोली लागी रमेश महतोको मृत्यु भयो । आन्दोलन झन् चुलियो ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासित २०६४ फागुन १६ गते फोरम नेतृत्वका आन्दोलनकारीसँग ८ बुँदे सम्झौता भयो । त्यही सम्झौताका कारण अन्तरिम संविधानमा ‘संघीयता’ शब्दले प्रवेश पायो । त्यसले यादवको मधेसमा गतिलो छाप पर्‍यो । लगत्तै २०६४ को संविधानसभा निर्वाचनभन्दा केहीअघि ‘मधेसी जनअधिकार फोरम नेपाल’ निर्वाचन आयोगमा दलका रूपमा दर्ता भयो ।

मधेस आन्दोलनको बलमा उचाइमा पुगेका उपेन्द्रलाई साथ दिँदै जेपी गुप्ता, विजयकुमार गच्छदार, शरदसिंह भण्डारीसम्म फोरममा आए । फलस्वरूप पहिलो संविधानसभा निर्वाचनमा उक्त पार्टीले प्रत्यक्षतर्फ ३० र समानुपातिकमा २२ गरी ५२ सभासद ल्यायो । यादव सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भए । उनको दल भने बिस्तारै टुक्रा–टुक्रा भयो । गुप्ता, गच्छदारलगायतले पार्टी छाडदै गए । संविधानसभाको दोस्रो चुनावमा उनको दलले प्रत्यक्षतर्फ २ र समानुपातिकमा ८ गरी १० सभासदमा खुम्चिनुपर्‍यो । यादव स्वयंले मोरङबाट हारे, सुनसरीबाट मुस्किलले जिते । यसपालि उनले सप्तरी–प्रयोग अघि सारेका छन् ।

सप्तरी २ को अंकगणित

सप्तरी २ मा ७९ हजार २ सय ६३ मतदाता छन् । तीमध्ये करिब १३ हजार यादव समुदायका छन् । वाम गठबन्धनका उमेश यादव पनि यहींबाटै उम्मेदवार छन् । त्यही कारण यादव समुदायको मत बाँडिन सक्छ । तत्कालीन क्षेत्र ३ र २ का केही भाग समेटेर हालको क्षेत्र २ बनाइएको छ । दोस्रो संविधानसभा निर्वाचनमा २ बाट माओवादीका अशोककुमार मण्डल र ३ बाट माओवादीकै उमेशकुमार यादव विजय भएका थिए । फोरम दुवैमा दोस्रो भएको थियो ।

यो क्षेत्रमा राजविराज नगरपालिका, छिन्नमस्ता, तिलाठी कोइलाडी र महादेवा गाउँपालिका छन् । स्थानीय तहको निर्वाचनमा राजविराजमा राजपा, महदेवामा फोरम, तिलाठी कोइलाडीमा राजपा र छिन्नमस्तामा नयाँशक्तिले जितेका थिए । राजपा र फोरम तालमेल भएकाले स्थानीय तहका आधारमा हेर्दा यादवको पल्लाभारी देखिन्छ । तर, बागी–विद्रोहीको लावालस्कर उत्तिकै चुनौतीपूर्ण छ । गठबन्धनको सन्देश पनि कार्यकर्ता तहसम्म पुगिसकेको देखिँदैन । त्यसलाई व्यवस्थापन गर्न नसके र अघिल्ला चुनावकै दिशामा मतदाता गए भने उनलाई गाह्रो छ ।

Related Articles

Back to top button