विश्वसमाचार

विश्वभरबाट ८० हजार कोरोना संक्रमित निको भएर घर फर्के

Spread the love

चैत ४,  विश्‍वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट उपचारपछि निको भएर घर फर्किनेको संख्या बढेको छ।

मंगलबारसम्म विश्वभरबाट कोरोना भाइरसको संक्रमणबाट ७ हजार ४७७ जनाको मृत्यु हुँदा ८० हजार ८४८ जना निको भएर घर फर्किएका छन्। कुल एक लाख ८७ हजार ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकोमा ९९ हजार ५० जनाले उपचार गराइरहेका छन्। उपचाररतमध्ये ९२ हजार ५५९ जना अर्थात् ९३ प्रतिशत व्यक्तिमा सामान्य खालको संक्रमण देखिएको छ भने ६ हजार ४९१ अर्थात् ७ प्रतिशत व्यक्तिमा जटिल खालको संक्रमण रहेको छ।

चीनमा मंगलबारसम्म ८० हजार ८८१ व्यक्तिमा संक्रमण भएकोमा तीन हजार २२६ जनाको उपचारका क्रममा मृत्यु भएको छ। त्यस्तै, २१ जना नयाँ संक्रमित भेटिएका छन्। २४ घण्टाभित्रमा उपचाररत १३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यम एएफपीले उल्लेख छ। चीनपछि बढी प्रभावित युरोपेली मुलुक इटालीमा २७ हजार ९८० व्यक्तिमा संक्रमण भएको छ। यहाँ दुई हजार १५८ व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ। त्यस्तै, इरानमा १६ हजार १६९ व्यक्तिमा संक्रमण पुष्टि भएकोमा मंगलबार थप एक हजार १७८ जनामा संक्रमण भेटिएका छन्। यहाँ संक्रमणका कारण थप १३५ जनाको मृत्यु भएको छ।

यससँगै कोरोना भाइरसका कारण इरानमा मृत्यु हुनेको संख्या ९८८ पुगेको छ।     स्पेनमा मंगलबार थप दुई हजार व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ। मन्त्रालयका अनुसार स्पेनमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण ४९१ जनाको मृत्यु भएको छ। संक्रमितको संख्या ११ हजारभन्दा बढी पुगेको छ। कोरोना भाइरसका कारण बढी प्रभावित हुने मुलुकमध्ये स्पेन विश्वमा चौथो र युरोपमा दोस्रो मुलुक बनेको छ। भाइरसका कारण सबैभन्दा बढी चीन प्रभावित बनेको भए पनि पछिल्ला केही दिनमा चीनमा नयाँ संक्रमण दर सरदर एक अंकमा झरेको बताइएको छ।

चीन पनि बढी प्रभावित मुलुक इटली बनेको छ भने इरान तेस्रो स्थानमा रहेको छ।     संक्रमणको प्रभाव युरोपका अन्य राष्ट्र फ्रान्स र जर्मनीमा पनि जटिल रहेको बताइएको छ। अमेरिकामा संक्रमणका कारण ९३ जनाको मृत्यु भएको छ भने चार हजार ७४४ जनामा संक्रमण भेटिएको छ।

Related Articles

Back to top button