पोखरा, ७ साउन । पोखरा महानगरपालिका वडा नं. २८ स्थित माझठाना स्वास्थ्य चौकीमा जलन सम्बन्धी सचेतना कार्यक्रम बिहीबार सम्पन्न भएको छ।

आइएनएफ नेपाल हरियोखर्क अस्पतालको आयोजना, पोखरा महानगरपालिका, गण्डकी प्रदेश, कास्की नेपालको समन्वय तथा ग्लोबल केयर जर्मनीको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा सहायक परियोजना अधिकृत श्वेता लम्साल ले सहजीकरण गर्नुभएको थियो।

सहजीकरणका क्रममा लम्सालले कास्की जिल्लाका पाँचवटै स्थानीय तहमा परियोजनाको कार्यक्षेत्र रहेको जानकारी दिनुभयो। जलन सम्बन्धी जानकारी प्रदान गर्ने, जलनको प्राथमिक उपचार, जलनबाट बच्ने उपाय तथा अपनाउनुपर्ने सावधानीबारे जनचेतना अभिवृद्धि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।

उहाँले जलन भनेको के हो, जलन हुने कारणहरू, जलनका असरहरू, जलनका प्रकार, जलनको उच्च जोखिममा पर्ने जनसंख्या, जलन रोकथामका विशेष उपायहरू तथा जलन पश्चात अपनाउनुपर्ने सावधानीहरू लगायतका विषयमा विस्तृत सहजीकरण गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा कार्यवाहक वडा अध्यक्ष वीरेन्द्र भण्डारी ले कार्यक्रम समयसापेक्ष र अत्यन्त उपयोगी रहेको बताउनुभयो। जलन सम्बन्धी समस्यालाई न्यूनीकरण गर्न प्रत्येक व्यक्ति स्वयं सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो। यस समस्यालाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै कार्यक्रममा प्राप्त ज्ञानलाई टोल–टोलसम्म पुर्‍याई समुदायमा सचेतना फैलाउन आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा आमा समूह, बुद्धिजीवी, स्वास्थ्य स्वयंसेविका, रत्नशोभा माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

रत्नशोभा माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद पौडेल ले कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता कार्यक्रमबाट विद्यार्थीहरूले सिक्ने र नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्ने तथा उनीहरूले आफ्नो टोल–छिमेकमा समेत जलन सम्बन्धी सचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी, प्रोजेक्ट सुपरभाइजर सुशील न्यौपाने ले जलन भएपछि अपनाउनुपर्ने आवश्यक सावधानीका विषयमा स्पष्ट पार्नुभएको थियो।

माझठाना स्वास्थ्य चौकीका इन्चार्ज बिनोद तिवारी ले कार्यक्रम अत्यन्त महत्वपूर्ण रहेको बताउँदै जलन सम्बन्धी सचेतना कार्यक्रमलाई अझै वृहत् रूपमा सञ्चालन गर्न सके जलनका घटनाहरू न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो। माझठाना स्वास्थ्य चौकीको व्यवस्थापनमा सम्पन्न कार्यक्रममा उहाँले आयोजक संस्था, वडा कार्यालय, स्वास्थ्य स्वयंसेविका तथा कार्यक्रममा सहभागी सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।