पोखरा, मंसिर ९ । सेवानिवृत्त जीवनलाई व्यक्तिगत सुखसुविधामा मात्र सीमित नराखी समाजसेवा र भावी पुस्ताको शैक्षिक भविष्य निर्माणमा समर्पित गर्ने उदाहरणीय काम गरेका छन् पोखरा महानगरपालिका–२९ निवासी शिक्षासेवी विजयराज भण्डारीले।

नेपाल शिक्षक संघ कास्कीका पूर्वअध्यक्ष, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका पूर्वअध्यक्ष तथा नवप्रभात माध्यमिक विद्यालय, पोखराका पूर्व प्रधानाध्यापक भण्डारीले मादी गाउँपालिका–८, मिजुरे, रबैडाँडास्थित नारायण आधारभूत विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेका छन्।

आफूले प्राप्त गर्ने निवृत्तिभरण (पेन्सन) रकमलाई व्यक्तिगत सुखसुविधामा मात्र खर्च नगरी ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पढाइप्रति प्रोत्साहित गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको भण्डारीले बताए।

पोखरा–२९ स्थित जनप्रकाश बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहेका भण्डारीले आर्थिक अवस्था कमजोर भएका तथा जेहेनदार विद्यार्थीलाई सहयोग गर्न र उनीहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न अक्षयकोष स्थापना गर्न पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको बताए।

स्वास्थ्यमा पूर्ण सहजता नभए पनि शारीरिक कठिनाइको प्रवाह नगरी विद्यालयमै पुगेर बालबालिकाको खुसीमा सहभागी हुन पाउँदा आनन्द लागेको उनको भनाइ थियो। धनभन्दा पनि मन ठूलो हुने उल्लेख गर्दै उनले आफू सामुदायिक विद्यालयमा व्यक्तिगत रूपमा सहयोग लिएर पुग्ने गरेको अनुभव सुनाए।

उनले गरिब तथा किसानका पक्षमा उठाइने आवाजप्रति आफ्नो सधैँ समर्थन रहने बताउँदै विद्यार्थीलाई ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छु भन्ने भावनालाई आत्मसात् गर्न आग्रह गरे। साथै, अध्ययनमा विशेष ध्यान दिएर असल र जिम्मेवार नागरिक बन्न विद्यार्थीलाई सुझाव दिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिप्पल गुरुङले विद्यालयको व्यवस्थापकीय अवस्थाबारे जानकारी गराउँदै सरकारी निकायबाट हुनुपर्ने सहयोगसमेत व्यक्तिगत पहलबाट उपलब्ध गराई बालबालिकाको मुहारमा खुसी ल्याउन योगदान पुर्‍याएकोमा भण्डारीप्रति आभार व्यक्त गरे।

त्यसैगरी विद्यालयका प्रधानाध्यापक धर्मलाल आचार्यले ग्रामीण क्षेत्रको विद्यालयमा पुगेर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै अध्ययनप्रति हौसला प्रदान गरेकोमा सहयोगी भण्डारीप्रति कृतज्ञता व्यक्त गरे।

कार्यक्रममा समाजसेवी राजेन्द्र अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य सूर्यबहादुर न्यौपाने, अभिभावक मिनबहादुर क्षेत्री लगायतले भण्डारीको सामाजिक कार्यको प्रशंसा गर्दै यस्ता सहयोगले विद्यार्थीको अध्ययनमा सकारात्मक प्रभाव पार्ने धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक धर्मलाल आचार्यले गरेका थिए।