पोखरा, कात्तिक २३ । सानो लगानी र निरन्तर मेहनत गर्न सके आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएको छ पोखरा महानगरपालिका–३१, बेगनासताल निवासी सूर्यप्रसाद लामिछाने।
मौरीपालन व्यवसायसँगै पुष्प खेतीलाई आम्दानीको अर्को स्रोत बनाउनु भएका लामिछानेले तीन रोपनी क्षेत्रफलमा विभिन्न जातका फूल खेती गर्दै आउनु भएको छ ।
तिहारलाई लक्षित गरी करिब १०५ दिनअघि नै फूलको बीउ रोपेर उत्पादन सुरु गर्नु भएको लामिछानेले यस वर्ष सयपत्री, मेरीगोल्ड र ५५५ गरी तीन जातका फूल उत्पादन गर्नु भएको छ । तिहारको समयमा फूलको माग बढी हुने भएकाले समयमै बीउ रोप्न सके बजारमा बिक्री गरेर राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ।
पुष्प खेती सुरु गर्दा महानगरपालिकाबाट बीउ खरिदमा ५० प्रतिशत अनुदान प्राप्त भएको उहाँले सुनाउनु भयो । यस वर्ष पुष्प खेतीमा करिब ५० हजार रुपैयाँ लगानी गर्नु भएको लामिछानेले अहिलेसम्म करिब ५० हजार रुपैयाँ बराबरको फूल बिक्री गरिसक्नु भएको छ । बाँकी फूलबाट थप ५० देखि ६० हजार रुपैयाँसम्म आम्दानी हुने उहाँको अपेक्षा छ। यसअनुसार यस वर्ष फूल बिक्रीबाट मात्रै करिब एक लाखदेखि एक लाख १० हजार रुपैयाँसम्मको कारोबार हुने उहाँको अनुमान छ।
उत्पादित फूल बिक्रीका लागि टाढाको बजार धाउनुपर्ने अवस्था नरहेको लामिछाने बताउँनुहुन्छ । घरवरपरकै स्थानीय बजार तथा उपभोक्तामार्फत फूलको खपत हुने गरेको छ। मौरीपालनसँगै अफ सिजनमा समेत करिब तीन महिनासम्म पुष्प खेती गर्दै आउनु भएका लामिछानेका लागि यो व्यवसाय आम्दानीको राम्रो माध्यम बनेको छ।
“जुनसुकै काम गर्दा पनि निरन्तरता र मेहनत आवश्यक हुन्छ। पुष्प खेती गर्दा आफूलाई आनन्द पनि आउँछ र आम्दानी पनि हुन्छ,” उनले आफ्नो अनुभव सुनाउनु भयो ।
पुष्प खेती गर्न चाहने कृषकलाई बीउ छनोटमा विशेष ध्यान दिन र पानी नजम्ने जमिनमा फूल लगाउन उहाँले सुझाव दिनुभएको छ ।
घरमै उपलब्ध स्थानीय बीउ आफैँले उत्पादन गर्न सकिने र नभए गुणस्तरीय बीउ खरिद गरेर खेती सुरु गर्न सकिने उहाँको भनाइ छ। पुष्प खेती गर्न इच्छुक अन्य कृषकलाई आवश्यक सल्लाह र सुझाव दिनसमेत आफू तयार रहेको उहाँले बताए।
स्वदेशमै फूल उत्पादन गरेर तिहारलगायतका चाडपर्वमा विदेशबाट आयात हुने फूलमा निर्भरता घटाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । “आफ्नै माटो मलिलो बनाऔँ, स्वरोजगार बनौँ, आयातमा मात्र भर नपरौँ, सम्भव भएसम्म निर्यात गर्ने सोच राखौँ,” उहाँको सन्देश छ।
लामिछानेका अनुसार पुष्प खेतीले बेरोजगार युवालाई आफ्नै गाउँठाउँमा रोजगारी सिर्जना गर्न सक्ने सम्भावना बोकेको छ। रोजगारको खोजीमा भौँतारिनुभन्दा सानो लगानीबाटै व्यावसायिक खेती सुरु गर्न सके मेहनत अनुसारको प्रतिफल प्राप्त गर्न सकिने उहाँको विश्वास छ।
तिहारमा विदेशबाट फूल आयात गर्नुभन्दा आफ्नै माटोमा फूल उत्पादन गरौँ, स्वावलम्बी बनौँ र स्थानीय उत्पादनलाई प्रोत्साहन गरौँ भन्ने सन्देश लामिछानेले दिनुभएको छ ।








